Saturday, 2 August 2014

सुन्दर“रहरको फूल'

सुन्दर“रहरको फूल'

भूमिका

सुन्दर“रहरको फूल' 

 –श्रीजन श्री

गजलमा तराना भर्न सिपालु रमेश, उदयपुरको .......... मा जन्मे । त्यही हुर्के र त्यहीवाट साहित्यको कखरा सुरु गरे । समयक्रमले उनलाई स्वदेशमा टिक्न दिएन र सपनाको ठुलो भारी बोकेर प्रवासीन बाध्य भए । जब उनि प्रवास पुगे, तब त्यही सपनाको भारीले थिचिएर धुलोमाटो बने र त होमिए गजलगंगामा जिन्दगी र जिन्दगीको सारतत्व खोज्न हेतु । जब उनि गजलगंगामा होमिए तब उनले जिन्दगी र जगतको सार्थक फ्युजन गरे र त जन्मियो विविध ताडनाका बीचबाटै यो संग्रह ।


मैले विगत २ बर्षदेखि पढ्दै र बुझ्दै आएको छु रमेशलाइ। जबदेखि उनि मण्डलीमा मिसिए तबदेखि उनिसँगको सानिध्य झन् बाक्लिँदै गयो र उनका प्रत्येक गजलको पहिलो पाठक बन्ने सौभाग्य पनि मिल्यो मलाई । त्यसैले पनि रमेशको गजलकारिताको बारेमा लेख्न र बोल्न सजिलो छ। मण्डलीमा मिसिनुभन्दा अघि रमेशका गजलहरु भावका दृष्टिले राम्रा भए पनि लयका दृष्टिले विक्षिप्त देखिन्थे । त्यतीखेर २० देखि ३५ बर्ण सम्मका गजलहरु सिर्जना गर्ने रमेश अचेल भने १४/१६ बर्णका र सवाई र झ्याउरे लयमा विशेष प्रकारको दख्खल राख्दछन् । अझ झ्याउरे र १६ बर्णको लयमा त उनले साँच्चै रहरलाग्दा गजलहरु लेख्न थालेका छन् । यसै कुराको साक्ष्य हो रहरको फूल ।


रमेश जिन्दगीका कुईनेटाहरुमा ठोक्किँदा ठोक्किदैँ यहाँसम्म आईपुगेका छन् र पनि आफ्नो खुशि भन्दा अरुको खुशिका लागी गजल लेख्छन् । अनि मुसुमुुुसु हाँसिरहन्छन् र पनि भित्र भित्रै तप्किएको चालै पाउँदैनन् शेरहरुमा र प्रत्येक तप्काईहरु गजल बन्न पुग्छन्।


हामी सिद्धान्तमै मात्र बढी अल्झिरहेका छौ अझैपनि। सिद्धान्तले मात्र गजल “गजल” बन्दैन भन्ने कुरा बुझ्नु अत्यावश्यक छ । गजलमा विविध प्रकारको चिन्तन, मिथक र दर्शन सिद्धान्तले हैन शैलीले भर्ने गर्छ। अन्यान्य विधाका ४/५ वटा रचनाहरुले बोल्न सक्ने कुरा गजलका ४/५ वटा शेरमै बोलाउन सक्ने सामर्थ्य पनि शैलीभित्रै पर्छ र यहिनेर गजलकारहरुले के विर्सनु हुँदैन भने “गजलमा भाव भर्दै जाँदा लयको लगाम छुट्यो भने चाँही गजल विकिर्ण बन्न पुग्छ।” तसर्थ लयका नाममा भाव र भावका नाममा लयलाई उपेक्षा गरिनु हुँदैन।


सबै चिजको सबैतिरबाट तालमेल मिलेन भने गजल यान्त्रिक बन्न पुग्छ । अचेल रदिफ काफिया मात्र उन्दै अलिअलि भाव भर्दै गजल सिर्जना गर्ने र संग्रह प्रकाशन गर्नेहरुको ठूलै भिड छ नेपाली गजलमा। हामीले बुझ्नुपर्ने कुरा के हो भने रदिफ काफिया उन्दैमा र एक दुईवटा संग्रह प्रकाशित हुँदैमा गजलकार बनिँदैन । तसर्थ दिगो संकल्प, स्वच्छ विचार, गहिरो अध्ययन र नविन कुराको खोजी हुनुपर्छ यसका लागी। रमेशलाई भने यि कुराहरुको सन्निकट पाएको छु मैले।


मान्छे स्वतन्त्र प्राणी हो, उसको वाक स्वतन्त्रता उसको नैसर्गिक अधिकार हो। उसको विचार उसले समाजमा निर्भिकताका साथ राख्न पाउनु पर्दछ । गजलमा पनि यो कुरा लागू हुन्छ । किन्तु शास्त्रिय मान्यताहरुलाई अनुशीलन गरेर मात्र। यसर्थ पनि गजलले विचारलाई बाध्यो, यो रुढ भयो, यसको शास्त्रिय जञ्जिरले विचारलाई जकेड्नु सम्म जकेड्यो भन्ने गुनासाहरु आईरहेका छन्। यहिनेर के भन्छु भने यदि हामीले शास्त्रिय मुल्य मान्यताहरुलाई आत्मसाथ नगर्ने हो भने गजल गजल रहँदैन। कि त त्यो गीत बन्छ, कि त कविता वा साहित्यका अन्यान्य विधाको कुनै भेद वा उपभेद। यसर्थ गजल गजल बन्नको निम्ति शास्त्रिय मूल्य मान्यताहरुको हिजो जति आवश्यकता थियो आज पनि त्यतिकै छ। यहिनेर यथास्थितीवादी सोच भन्ने प्रश्न लाग्न सक्छ। किन्तु रदिफ काफिया, तासिर, लय, भाव लगायतका गजलका अत्यावश्यक तत्वहरुलाई नबंग्याएर समाजमा व्याप्त जुनसुकै विषयबस्तुहरुको बारेमा पनि गजल सिर्जन गर्ने अधिकार भने गजलकारहरुलाई छदैछ एक र दोस्रो गजल हिजोकै मान्यतामा रहनुपर्छ भन्ने हुँदै होईन । नयाँ युगमा नौलो र आफ्नै विशिष्टताले युग हाँक्नुपर्छ भन्ने नै हो । यदि पूराना मूल्य मान्यताहरु भत्काएर त्यो भन्दा पारदर्शि, वजनदार, सम्प्रेषणिय र चमत्कारिक मूल्य मान्यताहरु आउँछन् भने गजल पुरानै ढर्रामा चाहेर पनि बस्न, अटाँउन र चल्न सक्दै सक्दैन । तसर्थ यो कुरातिर पनि आजका गजलकारहरु उन्मुख हुनु पर्दछ । र स्मरण रहोस् सस्ता नारा लगाएर र गजललाई नङग्याउँदै हल्का प्रतिपादन गर्दै रातारात लोकप्रिय हुन खोज्नेहरु भने गजलबाटै बहिस्कृत हुनेछन् ।यो कुरा किन गरि रहेको छु भने क्षणभरमै प्रचारमा आउन गजलको गालामा थप्पड हान्न खोज्ने जमात पनि छ नेपाली गजलमा। त्यो जमातले प्रयोगका नाममा गजललाई अश्लिल, नांगो र पथभ्रष्ट बनाउँदैछ । त्यो जमातका स्वनामधन्य हरुलाई नाम र दामका लागि चोरबाटो अबलम्बन गर्दै जस्तोसुकै हत्कण्डा पनि नमच्चाउन हुन यहिबाट आग्रह गर्दछु। र फेरि पनि भन्छु यदि गजल नै लेख्नु छ भने, प्रयोग नै गर्नु छ भने पनि राम्रा र सभ्य अन्य कैयौ बाटाहरु छन्/हुनसक्छन् (लाई) छान्न/तयार गर्न सक्नुहुन्छ । रमेश र रमेशहरुलाई पनि यस्ता तत्वहरुको खिलाफमा जुर्मुराउन आग्रह गर्छु यहीबाट। उसो त रमेश आफै पनि यो कुरामा सचेत छन्।


सर्जक फूलको बारेमा रचना गर्दा फूलै बन्यो भने, जूनको बारेमा रचना गर्दा जूनै बन्यो भने मात्र वास्तविक सिर्जना जन्मन्छ। यहाँ रमेश पनि आम नारीका विविध पाटाहरु उक्काउने क्रममा कतै आमा छोरी, कतै सासु बुहारी, कतै नन्द भाउजु कतै प्रेमीका त कतै नारीका अन्यान्य रुप र गुणसहित पोखिएका छन् संग्रहमा । रहरको फूल पढिरहँदा लाग्छ यो कुनै पुरुष सर्जकले लेखेको कृति नभई समाजबाट पिल्सिएकी र थिल्थिलिएकी नारी सर्जकले लेखेको कृति हो । नढाँटी लेख्ने हो भने रमेश यो कृतिमार्फत विशुद्ध नारीवादी गजलकारका रुपमा उदाएका छन् । संग्रहमा डुब्दै जाँदा रमेशले यो संग्रह मेरै विरुद्धमा लेखेका हुन् कि जस्तो महसुुुस भयो मलाई। समाजमा नारी मुक्तिका चर्का भाषण उराल्ने र व्यवहारमा रावण चरित्र देखाउने आम मान्छेहरुको भिंड छ । यसमा कुनैकुनै पुरुष सर्जकहरु पनि पर्दछन् । लेखाई यौटा र व्यवहार अर्कैै गर्ने यिनै तत्वहरुका विरुद्ध यो संग्रहले आगो झोस्नेछ भन्नेमा दृढ छु म। आफ्नो सिर्जनकर्ममा सचेत र इमान्दार रमेशले संग्रहलाई पुरुषवादी समाजका विरुद्धको अस्त्र मात्र बनाएका छैनन् बल्कि नारीबाटै हुने नारी शोषणका कुराहरुलाई पनि उप्काएर फलामले फलाम काट्छ भन्ने कुराको संकेत पनि गरेका छन्।
नेपाली गजल साहित्यमा अन्य पुरुष गजलकारहरुले नारीवादी गजलहरु सिर्जना गर्दै नगरेका भने होईनन् । तर रमेशको जस्तो सिंगै कृति एउटै बिषय (नारीवादी) मा, पूरुष गजलकार त के स्वयम् सयांै राम्रा राम्रा नारी गजलकारहरु हुँदाहुँदै पनि (उनिहरुले नै पनि) सम्भवतः लेखेका छैनन् । यसर्थ यो संग्रह नेपाली गजल साहित्यको प्रथम नारीवादी गजलसंग्रह हुनुपर्छ जस्तो लाग्छ । हुन त प्रथम द्धितिय भन्दा पनि सर्जक पुजिने भनेको वास्तविक सिर्जनाले हो।


यो संग्रह पढ्दै जाँदा नारी पाठकहरुले यो मेरै आवाज हो भन्ने महसुस गर्नेछन् भने, पुरुष पाठकहरुले मेरै विरुद्धमा लेखिएको रहेछ भन्ने महसुुस गर्नेछन्। यसर्थ पनि पैतृसतात्मक राज्यव्यवस्थाका विरुद्ध पनि एउटा आन्दोलन छेडेका छन् रमेशले भन्न सकिन्छ।
उसो त नारी भित्रैकै नारी खलपात्रप्रति पनि व्यङग्य गरेका छन् गजलकारले । र कतै कतै प्रवासी पीडा चरम गरिवी, अस्थिर राजनिती, बढ्दो बेरोजगार र जीवनका विविध बिब्ल्याँटाहरु पनि मुखरित भएको देखिन्छ संग्रहमा । एउटा कुरा सत्य हो नारी हुन् वा पुरुष ज–जसले यो संग्रह पढ्छन् उनिहरुमा धेरथोर वैचारिक कम्पन अवश्य ल्याउन सक्छ यसले ।

भाषागत, बिषयगत, शिल्पगत, विचारगत र परिबेशगत जस्ता कुराहरुमा रमेशलाई चनाखो पाएको छु मैले । उनि गजलको संरचनात्मक पक्षमा त होसियार छँदैछन्, लयात्मक पक्षमा पनि उतिकै इमान्दार छन् र त भन्नुपर्छ यो संग्रह उनको सजगता, साधना र शिल्पको परिणती हो।
भनिन्छ विगार्नु छ भने चढाउनु पर्छ । रमेशलाई बिगार्नकै निम्ति चढाईरहेको छैन मैले । उनले आफ्नो उचाई आफैले तय गर्नेछन् भन्ने कुरामा विश्वस्त छु म । र एउटा सल्लाह पनि दिन्छु कि बिषयगत व्यापकता, लयगत सचेतता, भावगत सघनतामा अझै ध्यानदिनु पर्ने देखिन्छ । हुनत यो संग्रह नारीवादी मात्र निकाल्ने अठोट भएकाले पनि बिषय संकोचन देखिएको हुनसक्छ।
रहरको फूल नेपाली गजलसाहित्यलाई दिलैबाट नजराना चढाएका छन् रमेशले । दुरुहताका कट्टर बिरोधी उनले तारेभिरमै पनि सरसताका साथ फूल फुलाएर आफ्नो गजल लेखनीको दह्रो प्रमाण पेश गरेका छन् । गजलमा रमेशको अन्तरप्रज्ञाचक्षु खुलेको भए पनि,कतैकतै पुरानै प्रवृतीहरुको अनुकुलन छ । रमेशको औपचारीक शिक्षा, गजलसाहित्यमा कलम बगाएको समय र उमेरको हदलाई हेरेर मुल्यांकन गर्ने हो भने उनको यात्रा एकदमै फराकिलो र सहज छ भन्न सकिन्छ।

रमेश रमेशै बनेर आएका छन् संग्रहमा। कथ्यको सटिकता, समयुगिन नारी भावाभिव्यक्तीको प्रधान्यता, लयगत सुगठनता र शैलिगत लेपनताले संग्रहलाई चिरिच्याट्ट बनाएको छ।

नारीवादी संग्रह भएर पनि संग्रहमा श्रृगारिकता भन्दा विद्रोहको बाणी बढी अभिगुञ्जित भएको छ । अधिकांश गजलले अधिकार कै कुरा उप्काएका छन् । प्रतीक विम्बहरुको छनौटमा पनि सफल देखिन्छन् गजलकार । पाठक जति जति संग्रहभित्र पस्दै जान्छन् उतिउति गजलकारको अभिष्ट नारी स्वतन्त्रता हो भन्ने कुरामा स्पष्ट हुँदै जान्छन् । संरचनागत र भावगत कुरा गर्ने हो भने रमेश बाह्य तथा अन्तर्य दुवै कुरामा सचेत देखिन्छन् । यति हुँदा हुँदै पनि कतै कतै विँया नलागेका भने हैनन् । तर सरलताले गर्दा संग्रह बोधगम्य बनेको छ । रमेश गजलका तत्वज्ञ तथा मर्मज्ञ होईनन् तथापी उनको कलमले धेरैलाई दर्बणशिल बनाउँछ । यो नजराना निहारीका नै हो रमेशका लागि । मञ्जुल तथा कर्णप्रिय र माधुर्य गजलले मात्रै श्रोता तथा पाठकहरुको मन जित्छ भन्ने कुरा विर्सेका छैनन् सर्जकले, किन्तु छोटो आयाममा परिणद्ध गजलमा जुन बुनियाँद हुनुपर्ने हो त्यो छ कि छैन भन्ने कुरामा भने अलिक सचेत नभएजस्तो देखिन्छ र पनि गजलानुरागी तथा रशिकजनहरुलाई भने यो संग्रहले नाक खुम्च्याउन दिने छैेन ।

र अन्त्यमा गजलका शेरहरु राख्दै यो शेरले यसो भनेको छ त्यो शेरले उसो भनेको छ भनेर भनिरहनुपर्ने आवश्यकता देखिन मैले । कतिपय पाठकहरुलाई भूमिका खल्लो महसुुस हुन सक्छ । त्यसका लागि क्षमा प्रार्थि छु र यो संग्रह नेपाली गजलाकाशमा प्रथम नारीवादी संग्रह भएपनि नभएपनि र तत्काल यसको बारेमा कसैले चासो लिए पनि नलिए पनि कालान्तारमा भने यसको मुल्यांकन हुनेनै छ । अझ यसो भनौ यो संग्रहको मात्र हैन प्रवासी गजल साहित्यकै मुल्यांकन हुने छ र त्यतीखेर रमेश र रमेशहरु आफ्नो विगतलाई सलाम गर्नेछन् । अस्तु ।

२०६८ –०१–०१ मलेसिया
...................................................................
Unknown

Unknown

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment