Saturday, 2 August 2014

दमीत उच्छवासहरुको उद्रघाटन

दमीत उच्छवासहरुको उद्रघाटन

दमीत उच्छवासहरुको उद्रघाटन

जुम्लाको स्याउ विलौना गर्छ, फलेर के गर्नू ।
नबन्ने भए रुकुम र  खारा,  बलेर के गर्नू ।   

       
मक्का मदिनाको गजल हुम्ला–जुम्ला र बारा–खारा सम्म आईपुग्दा निक्कै परस्कृत भइसकेको नजिर हो यो । साहित्यिक व्योममा मृदुल,सुवोध्य र स्निग्धताको पगरी गुथेको यसले राजादेखि रङ्कसम्मलाई लठ्याउदै खाडीदेखि झाडीसम्म ढकमक्क फुल्न जानेकोछ । यसमा सत्वगुण,रजोगुण र तमोगुण के हुदैन सब हुन्छ । हो यो सबैले हो भेषराज नेपाललाई सिसम श्री बनाएको । गीतालेभने जस्तै धर्म भनेकै कर्म हो । भन्ने यथार्थलाई अङ्गीकारगर्दै आफ्नो कर्ममा निशिदिन कटिबद्द स्रष्टा सिसम श्रीलाई प्रथमतः हार्दिक स्वागत तथा बधाई ।  लोकजीवनका लालित्यपूर्ण लयचेतनाबाट अनुप्राणित सिसम,  निष्ठापूर्वक आफ्नो कर्ममा क्रियाशीलछन् । निम्नमध्यम र मध्यमवर्गीय समाजमा हुर्किबढेका उनी समाजका पेचिला र चेपिला कप्चेटाहरुबाट सिर्जनात्मक उद्गार बोकेर बाहिर आएकाछन् । आफ्नो अनुभवको प्रगाढतालाई गजलमा उन्दै मनको गाठोफुकाउने यो प्रयास साच्चिकै सुन्दर प्रयास हो ।

हिउ आफैलाइ आफ्नो चिसोपना ज्ञातहुदैन, आगो आफैलाइ आफ्नो तापमान बोध हुदैन तर सर्जक आफैलाई आफ्नो सिर्जनशक्तीको बारेमा भने राम्रो ज्ञात हुन्छ  र त ऊ अरुभन्दा पृथक हुन्छ र बाच्छ युगान्तर ।
ड्ड मान्छे जे गर्छ आफ्ना लागि गर्छ र अरुकालागि गरेको अभिनय गर्छ । तर यहा थोरै त्यस्ता व्यक्ति/व्यक्तित्वहरु पनिछन् जो अरुका लागि केही गर्छन्, आफू रुन्छन् र अरुलाइ हसाउँछन् ।

-यहा“म”हुनुको (म एक शरिर हुनुको) इतिहासले कुनै अर्थ राख्दैन । त्यसैले कि त्यस्तो लेख्न सक्नुपर्छ कि कसैलाई मेरो बारेमा पनि केही लेख्ने बनाउन सक्नुपर्छ भन्नेकुरा राम्रोसँग थाहाछ सिसम श्रीलाई ।


-यतिखेर यत्ति भन्नैपर्छ कि गजलमा रदिफ काफिया बीचको घम्साघम्सी, मिसराहरु बीचको रस्साकस्सी र लय र भावबीचको आत्मिक द्वन्द्वदेख्दा स्वतन्त्रताको चाह उप्कीएको हो कि ?(लाग्नु स्वभाविक हो ।) त्यसो त गजल चक्रव्यूह जस्तोपनि लाग्छ । अपितु शेरहरुको स्वतन्त्रता, बिचार र भावको व्यापकता, लयात्मक छटा, सरल र सरस शव्दावलीहरुको मधुरताले गर्दा विचार मन्थन गर्ने उपयुक्त माध्यम र स्वतन्त्र÷सुवोध्य निलो आकाश जस्तै खुलीदिन्छ गजल । जहा विचाररुपी चराहरु स्वतन्त्र शयर गर्न सक्दछन् । अझै यसो भनौ “कबिता गुलावको थुङ्गा हो भने गजल गुलावको बोट हो” कविता बुझ्न पत्र–पत्र केलाउनु पर्दछ भने गजल बुझ्न थुङ्गा–थुङ्गा चलाउनु पर्दछ । हुनपनि प्रजातान्त्रीक मुलुकका प्रदेशहरु जस्तै गजल बोटका थुङ्गाहरुपनि स्वतन्त्र हुन्छन् र प्रदेशहरुको केन्द्रसँग अन्योन्याश्रित सम्बन्ध रहे जस्तै थुङ्गाहरु र बोट बीचको अन्योन्याश्रीतताले गजल रोचक–घोचक र सोचक बनिदिन्छ । र सिसम हराएकाछन् यसैभित्र ।

-कल्पनाको गाडी चढे पनि विचाररुपी स्ट्रिङ समाउदै यथार्थको फराकिलो सडकमा यात्रारथ रहेकाले दुर्घटना असम्भवप्राय छ भन्न सकिन्छ सिसम श्रीको यात्रामा । थाहाछ उनलाई, जसरी शान्त तलाउमा ढुङ्गाहान्दा  पानी तरङ्गीतहुन्छ त्यसरी नै गजल पढ्दा र सुन्दा, पाठक÷श्रोताहरुको हृदयपनि तरङ्गीत हुनसक्यो भने मात्र गजल“गजल”बन्छ भन्नेकुरा ।

-जीवन सबैले भोगीरहेका हुन्छन् फरक यत्ति हो कि कसैले सुखमय त कसैले दुखमय । यो पनि सत्य हो कि खुसीमा होस् वा दुखमाहोस् मान्छे आँशु टिल्पिलाउछ । तर सुखको आँशु आँखामै हराउछ दुखको आँसु खसिरहन्छ । यहापनि यस्तै भएकोछ सिसम श्री गजलरुपी आँसु बनेर खसिरहन्छन्– खसिरहन्छन् । र प्रत्येक पाइलाहरु प्रत्येक दुखाइहरु गजलरुपी भ¥याङका अलग–अलग खुड्किला बन्छन् । हुनपनि.............जीवनको आपाधापीमा आँसु भन्दा नजीकको मित्र अरु हुन सक्तैन । दुःख,प्रेम, श्रद्दा,क्रोध, सन्ताप कहा हुदैन आँसु ? यो जीवन भन्दा नजीकहुन्छ । आँसु नहुदो हो त जीवन पनि न हुदो हो । यहा सिसम श्रीका शेरहरु भन्छन्ः–“जीवन विज्ञापनले होइन ज्ञापनले चल्छ ।”त्यसैले त हुनु पर्छ हृदयको धड्कन सँगै गजलका शेरहरु र गजलका शेरहरु सँगै हृदयको धड्कन धड्किन्छ र त भन्न मनलाग्छ “जीवन तर्क होइन प्रेम हो । ”


-कर्तव्य अहंकारले होइन सत्यले÷प्रेमले निर्वाह गरेमात्र मानिसको आत्मा आनन्दले भरिएर आउछ । यहा सिसम श्रीले आफ्नो कर्तव्य प्रेमपूर्वक निर्वाह गरेकाछन् । जो अरुको सम्मान गर्न जान्दछ ऊ सधै सम्मानित जीवन बाच्दछ भन्ने सत्वबोध झल्किन्छ सिसम श्रीको लेखनीमा ।
ड्ड भाषा संस्कारको दर्पण हो । मेरोभाषा रहेमात्र मेरो संस्कार रहन्छ र मेरो संस्कार रहेमात्र म रहन्छु भन्नेमा दृढछन् गजलकार । त्यसो त म आफ्नो भाषा संस्कारलाई जति प्रेमगर्छु त्यतिकै प्रेम सबैले आ–आफ्नो भाषासंस्कारलाई गर्छन्÷गर्नुपर्दछ भन्ने शन्देस÷आग्रह पनि छ संग्रहमा । र यता कथित परिवर्तन र आधुनिकताका नाममा हुदैगरेका हर्कतहरुको हुर्मतपनि कसरी–कसरी निकालिएकोछ हेर्न लायक छ यहा।

-अलिकति मुटु, अलिकति माटो, अलिकति घरदेश र अलिकति परदेश मिसिएका यी गजलका बान्कीहरु गुरास जस्तै मुस्कुराउछन्, कोइलीको जस्तै गाउछन्, मयुर जस्तै नाच्छन् र त भन्न मन लाग्छ यहा झरनाको झङ्कार छ, पखेराको गीत छ, सुदूर पश्चिमको द्यौडा र सुदूरपूर्वको साकेला सिली छ । हो साच्चै नेपाली पन छ,नेपाली मन छ ।

-जीवन संयोग हो जस्तो लाग्छ कहिले काही । तर सिसम श्री घरदेशबाट परदेसिनु संयोगमात्र हुन सक्तैन । यो भित्र धेरैकुराहरु हुनसक्छन् । बाध्यता,विवशता,रहर,आशा, निराशा जे पनि । परदेसिने कारण जे भए पनि आँखाभरी सपना र मनभरी घरदेश पक्कै बोकेको हुनुपर्दछ उनले । उनका शेरहरु पढ्दै जादा लाग्छ उनी थिल्थिलिएकाछन् सपनाहरु कुल्चिएर । त्यसो त सपनाहरु कुल्चिदाको कटकटी र छटपटी कस्तोहुन्छ ?शब्दमा व्यक्त गर्न सकिदैन । र पनि अनुमान भने लगाउन सकिन्छ त्यही अनुमान हो यो । र यहीनेर यो पनि भनूँ भनूँ लाग्यो कि भोगाइले मान्छेलाई परिवर्तन गर्दाेरहेछ । प्रवास वेदनाको महासागर हो । जहा जस्तै कठोर हृदयको मान्छेपनि पग्लिन पुग्छ । कारण आफ्नो थातथलो र घरपरिवारबाट दूरहुदाको पीडाबोधमात्र होइन, भाषा,संस्कृति,भावना र अन्यान्य कतिपय कारणहरुले गर्दा, मन भित्रभित्रै उम्लिरहेको हुन्छ परदेशमा । र त्यही उम्लाई भित्रको छल्बलाहट थाम्ने प्रयास गर्दैछन् सिसम श्री । उनको आशय भन्छ, जीवन बाच्नु एउटा कुरा र बाचेको जस्तोगर्नु अर्काेकुरा । हो सिसमको कलम सललल बगेकोछ गजलमा । घरदेश र परदेशको समज्यस्यता त छदैछ यहा, साथमा विषयवस्तुको स्थानागत औचित्यपुष्टिको छनकले गर्दा कोकोहोलो बीचपनि संग्रह महत्तर र बोधगम्य बन्न पुगेको छ । संग्रह भन्छ जन्म,मृत्यू,जीवन र सभ्यता सबै–सबै चेतना हुन ।

-आफ्ना समकालिन तथा अग्रज गजलकारहरुको जस्तै विषयाधिक्यता पाइन्छ सिसम श्रीका गजलमा पनि । प्रमूखतःपरदेशी पीडाको नरमाइलो गन्ध,गाउले मनको चोखो अभिव्यक्ती,साहूजीको कटु मुस्कान,देशप्रेमको उत्कट अभिलाषा,यूवा मनको तात्तातो उच्छवास,विकिर्ण राजनीति प्रतिको रोस–आक्रोस,जातिय लैङ्गीक र सामाजिक समानताको (अभिष्ट)वकालत,संस्कार (संस्कृति)प्रतिको आस्था÷निआस्था, राष्ट्रियताको विषेसतःराष्ट्रिय स्वाधिनताको चिन्ता,चुलिदो भ्रष्टाचार–आकासिदो महङ्गी र खस्कदो अर्थतन्त्र प्रतिको स्पष्ट र सालिन दृष्टिकोण,जीवन र जीवन सँग सम्बन्धित पक्षहरुको सटिक गणवेषण,शान्ति,सदभावना र स्वतन्त्रताको तिब्राकांक्षा,श्रृङ्गार र श्रृङ्गारभित्रका संयोग वियोग,राग पराग अनि सौन्दर्य मिमांसा,मान्छेका विविध प्रवृतिहरुको (चित्रण÷विश्लेषण)यथार्थलोकन,श्रमीक आन्दोलन र जनगीतको सुमधुर गुञ्जन,निरासा,कुण्ठा,छटपटी र अतितावलोकन,घरवास–प्रवास र त्यो बीचको घनिभूत समानता असमानता,प्राकृतिक सौन्दर्यको यथोचित्रण,............................................................................................................................................................................................................................................................................................................................................

-विचार विउ हो र मन खेत हो । विचाररुपि विउ मनरुपीखेतमा रोपेपछि विचारको बोट उम्रन्छ । तर खेत अनुसारको बाली र विउ अनुसारको गुणभने अवश्यहुन्छ फलमा । सिसम श्रीले “आँशुको कथा” गजल सँग्रह मार्फत विचारको विजारोपण गरेकाछन् । अवश्यपनि सुन्दर कलमको यो सुन्दर कार्य सुन्दर फूल र फलका रुपमा फुल्ने नै छ÷झुल्ने नै छ ।

-युद्ध विभीषिकाले थिल्थिएको देशको कलम कस्तो साहित्य लेख्ला ?रोग,भोक र सोकले रन्थनिएको देशको कलम कस्तो साहित्य लेख्ला ?पानी जल्ने र ढुङ्गो गल्ने देशको कलम कस्तो साहित्य लेख्ला ?यस्तै–यस्तै प्रश्नका चाङहरुको बीचबाटपनि सिसम श्रीको कलम आसाको गीत बोक्दै गाँउगाँउ पस्छ र भन्छ ः–
गोर्खालीको स्वाभिमान यो, लुकाएर कहाँ भाग्नू ?
न झुक्ने यी शीरहरु, झुकाएर   कहाँ भाग्नू ?

हुनपनि सच्चा राष्ट्रभक्तहरु शीर झुकाउनु र स्वाभिमान लुकाउनु भन्दा मृत्युवरण गर्नु उत्तम ठान्दछन् । सिसम श्री निरपेक्ष समाज र संस्कारका लागि लेख्छन् । उनको कलम पञ्चशीलका मूल्यमान्यताहरुमा अडिग छ । बोधनिय के छ भने माटोको गीतगाउदै माटो बेच्नेहरु र मुटुको गीतगाउदै मुटु बेच्नेहरु राष्ट्रभञ्जक र प्रेमभञ्जक हुन् भन्ने ठोकुवा गर्छन् उनी ।

-आसाको नौलो झिल्को बोकेर गजल पटाङ्गिनीमा उत्रिएका सिसम श्री गजलमा पारङ्गतै त भै सकेका छैनन् किन्तु त्यतातिरको सङ्केतभने अवश्य गरेको छ यो सँग्रहले । उसो त चन्द्रमामा पनि दाग छ । तर रुपगत सौन्दर्यताले र गुणगत शितलताले दागलाई गौण बनाए जस्तै सिसम श्रीको कला र वैशिष्ट्यताले कमजोरीलाई छोप्नसक्छ । उनको कला भन्छ व्यक्तिगत जीवनलाई तपसिलमा राखेर केही क्षणका निम्ति सार्वजनिक जीवन बाचौन,देश कसरी वन्दैन ? हुनपनि देश विकासको वुनियाद यही हो । विचारको विल्लिवाठ भएको समाजमा आगोका फूल फुलाउन गाह«ो त हुन्छ नै र पनि गजलकार हार्न जान्दैनन् । यही हो सँग्रहको विशेषता । विविध विभीषिकाका वीचपनि सँग्रहको आनन मलिन देखिन्न,बरु धपक्क बलेको (भावका कुरागर्दा) छ । पुर्णेको जून जस्तै । यसमा अलिकति सुष्ठु, अलिकति सौन्दर्य, अलिकति सुक्ति उक्ति, अलिकति नवीनता र अलिकति आफ्नै प्रकारको मिजाज थपि दिएकोभए सिसम श्री कुन उचाईमा पुग्थे म कल्पना गर्दैछु यतातिर । जे होस पहिलो प्रयास र पहिलो प्रयासमै पनि यतिको खरो विचार पस्कनसक्नु नै पनि ठूलो कुरा हो । आगामि दिनमा अझै नवीन र प्रवीण मिजाज, शैली र शक्तिका साथमा भेटहुने अपेक्षा त छदैछ । अहिलेलाई यत्ति भन्छु कि मित्र, दुनिया जित्नेहरुको हो । तिमीले जित्नुपर्छ र जिताउनु पर्छ, आफै र आफूजस्तैहरुलाई ।


–श्रीजन श्री
संस्थापक अध्यक्ष –अनाममण्डली मलेसिया
  ०६–१०–२०११

 

Unknown

Unknown

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment