Tuesday, 7 January 2014

प्रीतिको फूलमा सतही टिप्पणी

प्रीतिको फूलमा सतही टिप्पणी

प्रीतिको फूलमा सतही टिप्पणी

7 March 2013 at 23:09

कृति समीक्षा

-श्रीजन श्री

कृति– प्रीतिको फूल
sarjak-देवीप्रसाद उराठ
विधा– गीत तथा मुक्तक
प्रकाशक– जम्को प्रकाशन प्रा.लि काठमाण्डौं
संस्करण– पहिलो
प्रकाशन वर्ष– २०६३ वि.स.
सहयोग रासी– रु ३०
रु १०० (संस्थागत)

गीत मानव सभ्यताको प्रयाय हो । भाषाको लिपिबद्ध अवतरण हुनु पूर्वदेखि नै यसको अस्तित्व र स्वतन्त्र पहिचान रहदै आएको देखिन्छ । यसलाई समाजको विषिष्ट दर्पण, भाषाको आनन र अभिव्यक्तिको सुकोमल तर जवर्जस्त माध्यमपनि भन्नसकिन्छ । गीतलाई मान्छेको इतिहास पनि भन्नसक्छौँ हामी एक अर्थमा, तसर्थपनि यसलाई बिर्सन सक्तैनौ हामी । गीतमा हृदयको आवाज अभिगुञ्जितहुने भएकाले नै यो स्वप्नहरूको विम्व बनेर बाचिरहेको हुन्छ नाचिरहेको हुन्छ ।

नेपाली गीतको सुदीर्घ परम्परा छ । परम्परादेखि हालसम्म अनेक मोड, गल्छि, खोच, भञ्ज्याङ र चौतारी हुदै यहासम्म आईपुगेको छ गीत । पछिल्लो समय गीतमै समर्पितहुन आउने स्रष्टा–द्रष्टाहरूको बाक्लो उपस्थितिसँगै नविन गीतकार र गायकहरूपनि जन्मिइरहेकाछन्, गीतकार देवीप्रसाद उराठ यसै समय भरोसाका पुञ्जका रुपमा देखिएकाछन् ।

गीतकार देवीप्रसाद उराठ कविताका माध्यमबाट नेपाली साहित्य पटाङ्गीनीमा अवतरण भएका देखिन्छन् । ५० को दशकको उत्तरार्धतिरबाट साहित्यसृजनामा होमिएका देवीप्रसादका यसअघि नै “पखेराको फूल”२०६० र “हिजो विनासित्तै रोइएछ”२०६१ कविता संग्रहहरू नेपाली साहित्यफाटमा सफल प्रक्षेपण भइसकेका देखिन्छन् । विशेषतः कविता, गीत, गजल र मुक्तक विधामा कलम कलाउनुहुने देवीले आफ्नो तेस्रो कृतिकारुपमा “प्रीतिको फूल” गीत तथा मुक्तक सँग्रह बजारमा ल्याएकाछन् । पछिल्लोपल्ट रोजगारीको सिलसिलामा प्रवास मलेसियामा भेटिनुभएका देवीको यो घरवासमैछदा सिर्जित कृति हो । भनिन्छ दर्पणले र सृजनाले कहिल्यै झुटोबोल्दैन । यहापनि यस्तैभएकोछ ।

३६ वटा गीत र ८० वटा मुक्तक समावेश गरिएको र A5 साइजमा चिटिक्क सजिएको सँग्रह सत्यको दस्तावेज हो कि जस्तै लाग्छ । सुन्दर आवरणमा सजिएको प्रीतिको फूल सुटुक्क माया गाँस्छ र लट्ठ्याउछ भित्रभित्रै । काव्यात्मक दृष्टिले मुक्तकहरू ओजिला देखिएपनि सरलता र सहजताका दृष्टिले गीतका वान्कीहरूले माथ गरेको हो कि जस्तो लाग्ने “प्रीतिको फूल” उराठको उराठीलो मनको सुन्दर र एक्वान्वितियुक्त किन्तु हृदयसंवेद्य सँग्रह बन्न पुगेको छ । १५देखि५० पृष्टसम्म गीत र ५१देखि६४ पृष्टसम्म मुक्तकको विस्कुन लगाएर धूपको साम्राज्यमा फूलहरू रोएको स्वप्ना देख्दैछन् देवी प्र. उराठ । “फल”कर्मको सार्थकतामा निर्भरहुने गर्दछ भन्नेकुरा बुझेर नै हुनुपर्छ “फूलहरू रोएपनि अब फूलहरू होइन फूलहरूलाई हेरेर काँढाहरू रुन्छन” भन्ने विस्वास छ उनको । यता मानिसको समस्या त्यसदिन मात्र सुल्झ्न्छि कि जुनदिन उसले समस्याको समाधान स्वयम् ऊ आफै हो भन्ने सत्वबोध गर्छ भन्ने जान्दाजान्दै पनि गीतका र मुक्तकका माध्यमबाट भुल्भुलाएकाछन् उनी । यति हुदाहुदैपनि आत्मरतिमा रमाइरहनेहरूलाई प्रणामगर्दै सिर्जनयात्रामा अगाडिबढ्ने प्रयासभने गरेकाछन् उराठले । जो दिग्विजयको संकेत हो । गीतहोस् वा मुक्तक, आफ्नै विशिष्टतामा सजीवढंगले प्रस्तुतहुन सकेमात्र त्यसको सार्थकता निस्पन्न हुन्छ । उदात्त कल्पना, आकांक्षा र स्वप्नाहरू गीत र मुक्तकका माध्यमबाट उस्तै–उस्तै धागोमा उनेकाछन् देवीले ।

गीतको शक्ति, सौन्दर्य र लोकप्रियता हिजोकोभन्दा आज झन् चुलिएकोछ । यो मानव सभ्यताको अस्तित्व र प्रयाय भएकाले पनि हराउन सक्तैन । त्यसमा पनि देवी र देवीजस्तैहरूको लगन, त्याग र संघर्षले महत्वपूर्ण भूमिका निर्वाह गर्दैछ (गर्नेछ) । “गीतको भाषामा दम र शैलीमा सुमधुरता अपेक्षितहुन्छ भने मुक्तकको भाषामा गहनता र शैलीमा चमत्कार अपेक्षितहुन्छ ।” गीत जीवनकालागि लेखिनुपर्छ, जगतकालागि गाइनुपर्छ र समाजकालागि सुसेलिनु पर्छ भने मुक्तकपनि जीवन र जगतकालागि लेखिनुपर्छ भन्ने विस्वास ढकमक्क फुलेकोछ प्रीतिको फूलमा ।

गीत समाजको रक्षाकवच हो र हो मनको मधुपनि । यसमा रस, राग र अनुराग पोखिएको हुनुपर्दछ, जो राम्रैसँग घोलिएकोछ सँग्रहमा । हृदयको आदिम आवाजकारुपमा प्रस्फुटन भएको गीत, मानव समाजको अभिन्न अङ्ग हो भने त्यही आवाजको दम र हृदयको ढुकढुकी मुक्तक, मानव सभ्यताको मेरुदण्वड हो । यसकै आडमा बसेर टेकेर देवीले बिचारको बिउ रोपेकाछन् र फुलेकोछ प्रीतिको फूल । सँग्रह हेरी रहदा लाग्छ देवी सुखमा दुःखमा जहापनि मुक्तक वाचन गर्छन् र गीत गुन्गुनाउछन् । यहा गीतकार र मुक्तककार व्यक्तित्वको उस्तै–उस्तै छायाछवि मुखरित भएको देखिन्छ । सँग्रहभित्रका गीत र मुक्तकहरूलाई आत्मसन्तुष्टिको सातुसामल बनाउदै पाठकहरू मीठो मानिमानी चाख्नेछन् भन्नेमा कुनै संका नभएकोले नै सँग्रह “सँग्रह”बनेकोछ । यहा उराठ जस्तै पाठकहरूपनि प्रीतिको फूलभित्र पस्दैजादा आत्मपरकताको दुनियामा हराउनेछन् र पिरति गास्नेछन् मायालुसँग, तर धोका पाउदा भक्कानिनेछन् र भन्नेछन् –

फूल रोपेँ हृदयमा साझा भयो आज ।
माली बनी हुर्काएथेँ, अर्कै गर्यो राज ।
पृष्ट १५

बाधहरू भत्के, नहरहरू फुटे ।
जिन्दगीभरलाई, आसाहरू टुटे।

भो अब धाउदिन कुनै मन्दिरमा,
बाचेकोछु दिनरात, पिरैपिरमा।
पृष्ट २३

विरस र मिठासको सम्मिश्रण भएकोछ सँग्रहमा । वस्तुपरक काव्यढाचाको ठेकीमा राखेर माथिएका गीत तथा मुक्तकका बान्कीहरू रहरलाग्दा देखिन्छन् । आफै प्रश्न गर्ने आफै उत्तरदिने उराठको लेखनशैली गज्जबको लाग्नसक्छ पाठकहरूलाई । भाषा साहित्यविनाको समाज लङ्गडोहुन्छ । धर्म, भाषा, साहित्य र कला सभ्य समाजका मेरुदण्डहुन् भन्नेआशय उराठका मुक्तकको विशेषता बनेको छ । लोकछान्दिक शिल्पसाधना र स्वतन्त्रछान्दिक लयविधानमा सिर्जित गीत एवम्, स्वछन्दवादी भावधारा र विभिन्न मनोदषाहरूको बिचबाट उप्किएका मुक्तकहरूको झंकारले कसिलो र रसिलो बनेको प्रीतिको फूल, उराठको एक्वान्विति र आत्मपरकताको भङ्गालो पनि हो ।

कविता झै गीतको संरचनापनि बनोट र बुनोट सँग सम्वन्धितहुन्छ । यसकै आधारमा सुन्दर गीतात्मक माला उनेकाछन् देवी प्र.उराठले । प्रायःजसो गीतका शीर्षकहरू परिसुचक भएकाले सार्थक देखिन्छन्  भने मुक्तकमा शीर्षक राखिएकोछैन । सँग्रहमा करुणरसको अत्यधिक प्रयोग गर्दै वियोगको सुसेली सुसेल्छन् गीतकार । मुक्तककार भने देशभक्तिपूर्ण भावनाले ओतप्रोत भएका देखिन्छन् । एकाध ठाउमा अत्याध्मिक भावनाले रुझेका देवीले कतिपय ठाउमा यसकैविरुद्द मुठ्ठी कसेकाछन् ।। भावल कला र शिल्पको सानदार गठजोडले गर्दा प्रीतिको फूलभित्रका गीत तथा मुक्तकहरू हृदयश्पर्शी बनेकाछन् । कलाले थिचेर र बिचारले मिचेर गीत तथा मुक्तकहरू बुझ्न माथापच्चिसी गरिरहनु पर्दैन । सामान्यभन्दा सामान्य पाठकलेपनि सहजै अर्थ्याउन र सम्झन सक्ने मात्र होईन कि आ–आफ्नै शैलीमा सुसेल्नपनि सक्छन् प्रीतिकोफूल भित्रका गीतहरूलाई । यो नै उराठको सफलता हो र उद्देश्यपनि यही हो । उराठले गीतको लयविधान अन्तर्गत एउटै लय व्यवस्था, मिश्रित लयव्यवस्था र मुक्त लयव्यवस्थामा गीतको रचना गरेकाछन् । मुक्तक र गीत दुवैको भावविधान र भाषाबिचको तादात्म्यतामा सजकता अपनाउदै विभिन्न अलंकारहरूको अन्तर्घुलनपनि गरिएकाले सँग्रह भावसंवेद्य, वैचारिक र सम्प्रेशणीय बनेको छ । विशेषतः अन्त्यानुप्रास अलंकारको सार्थक र अत्यधिक प्रयोगले गीत तथा मुक्तकहरू रसिला बनेकाछन् । यसका अलावा यमक, उत्प्रेक्षा र उपमा अलंकारको सफल प्रयोगभएकोछ सँग्रहमा । बिम्व–प्रतीक योजना र भाषाशैली छनोटभने मध्यमखाले देखिन्छ ।

सँग्रहका गीत तथा मुक्तकहरू आत्मपरक हुदाहुदैपनि कुनै न कुनै कोणबाट पाठकका समस्या, पीर–व्यथा र दैन्दिनीहरूसँग मेलखाने खालका हुनालेपनि यो उराठको नभएर आम पाठकहरूको आफ्नै सँग्रह हो कि भन्ने आभाषभने दिनेछ आम पाठकहरूलाई. जो उराठको अर्को सफलता हो । उनका गीतमा प्रेमको राग, मुक्तकमा राष्ट्रियताको चिराग र उनको लेखनशैलीमा जीवनको पराग मग्मगाउछ ।

काव्यात्मक दृष्टिलेहेर्दा खासै चमत्कार नदेखिएपनि विचारको र विशेषतः लयको प्रक्षेपणभने रहरलाग्दो गरि आएकोछ सँग्रहमा । ललितशैली र भावमय भाषाका विचबाट सँग्रहले नवीनता दिने प्रयास गरेपनि जुन बुनिँयाद खडागर्नु पर्ने हो त्यो बुनिँयाद खडागर्नभने सकेकोछैन र पनि गीतकार तथा मुक्तककारको आगामि यात्राकोनिम्ति भने मार्गप्रशस्त अवश्य गरेकोछ यसले । तत्सम्, तत्भव र आगन्तुक शव्दहरूको सानदार संयोजनले गर्दा रचनाहरू बोधगम्य बनेकाछन् । अधिकांस गीतहरूमा प्रश्नात्मक र वर्णात्मक भाषाशैली मूलरुपमा र सुत्रात्मक भाषाशैली आंशिकरुपमा मुखरित भएकोछ । सँग्रहभरि विशेषतः गीतमा प्रथम पुरुष र द्दित्तिय पुरुषको प्रधान्यताछ । यहा देवी प्र.उराठको वैचारिक स्पन्दनको सघन अनुशीलनता मात्र भएकोछैन कि आगोको शीतलता र हिउको तापमानकोपनि सङ्केत गरिएको छ प्रीतिकोफूल मार्फत । उराठका गीतहरू रङ्गीचङ्गी फूलका थुङ्गा र सँग्रह तिनैथुङ्गाहरूको सुन्दर माला झै लाग्छ । विशेषतः अनुभूतिजन्य कम्पनहरूको जोडाइमा मालाको सार्थकता, सौन्दर्यता र सारगर्भिकता अझ बढि लोभलाग्दो देखिन्छ ।

धेरै घाउहरूछन् उराठका, जसलाई गीत तथा मुक्तकका माध्यमबाट सेक्ने क्रममा प्रीतिको फूल जन्मिएको छ । प्रीतिको फूलमा गुराँसघारीका गीतहरू चौतारीमा सुसेल्दै कहिले भञ्याङ त कहिले आधीखोलाको तिरैतिर उकालो लाग्छन् उराठ । आफ्नी प्रेमिकासँग सुटुक्क पिरती गास्दै कहिले सातौचण्डी भाक्छन् त कहिले रोधी, ख्याली, चुट्का, सालैजो, मारुनी र सोरठीका भाकाहरूमा रमाउदै मेलापात गर्छन् । मेलापातकै क्रममा पिपलका पातमा गीत लेख्छन् र प्रयसीको काखमा शीर राखी निदाउछन् अनि सपनीमै भन्छन्ः–

तिम्रो जीवनमा वसन्त छाओस् ।
म माथि साउन वर्सिएपनि, तिमीमा नबर्सियोस् ।

यसरी पिरतीमा लठ्ठिदालठ्ठिदै मायागर्ने मायालुबाट घातभएपछि उराठ साचिकै आधीखोला नै बन्छन् र भन्छन् –

आफ्नोभन्नु व्यर्थै, पिरथप्यौ पिरमाथि ।
सोझो मलाई कुल्चिएर, सिन्दूरलायौ शीरमाथि ।
पृष्ट ३४

उराठका गीतमा परदेसी पीडाको नरमाईलो गन्ध र हर्केदाइका दर्दानक पीडाहरूपनि असरल्ल बगेकाछन् –

हर्केदाइको साझ–विहान, चूलो बल्दैन ।
दिनभरी भारीबोक्यो, जीवन चल्दैन ।
(हर्केदाइ) पृष्ट ४७

प्रायःजसो गीत तथा मुक्तकहरूले गाउले परिवेश र त्यसमापनि आञ्चलिकताको झजल्को दिन्छन् । यहा अन्तर्मनका छिटा–बाछिटाहरूको व्याप्ति त छदैछ उदात्त भावनाहरूको सङ्लोरुप पनि सर्लक्क उतारिएको छ । रगतको गन्ध र पसिनाको रङ्ग खानेहरूको उछितो काढ्दै कतै–कतै शहर र यस सँग सम्वन्धित विदीर्णता प्रतिको आक्रोषपनि अभिगुञ्जित भएको छ । कला र भावको कुशल संमिश्रण भयोभने शव्द आफै बोल्छन् र टुकुटुकु हिड्न थाल्छन् यहापनि कतै–कतै यस्तै भएकोछ किन्तु परिस्कारको अपेक्षाभने गर्नैपर्छ । समयको लाठीले चुटेर घाईते भएको मन र मनको मनले बोलेका सत्योक्तिहरू बडो करुण एवम् हृदयविदारक भएर पोतिएकाछन् प्रीतिको फूलभरी । उसो त परिस्थितिजन्य प्रखालले घेरिएर उकुस मुकुस भएको मनले अरु के नै बोल्न (कल्पना गर्दैछु म) सक्थ्यो र ? करुणै करुणाले लछप्प भिजेकाछन् गीत तथा मुक्तकहरू । मात्रात्मकरुपमा आत्मिक व्यथाहरूको भङ्गालोपछि देशप्रेमको अंगालोमा बेरिएका गीत तथा मुक्तकहरूको आधिक्यता देखिन्छ सँग्रहमा ।

विविध अनुभूतिहरूलाई शैलीको लेपन लगाउदै कलाको कपर्छानमा राखेर निख्य्राउदै गीत तथा मुक्तककारुपमा जीवन प्रदान गर्नसक्नु उराठको निजत्व मान्न सकिन्छ । यो सँग्रह उनको सजक साधना, सद्विचार र समयको सहि परिणति पनि हो भन्न सकिन्छ ।

शब्दलाई बिचारमा र बिचारलाई गीत तथा मुक्तकको साचोमा राखेर कला र सौन्दर्यको घुम्टो ओढाउन सक्नु चानचुने कुरा होईन । सरलभन्दा सरल वर्णगुच्छहरूको सार्थक संयोजन गरि गहन भन्दा गहन भावाभिव्यक्तिकोरुपमा पस्केर, लयात्मक छिटा–बाछिटाले पाठक तथा स्रोताहरूलाई लठ्याउन सकेमात्र गीतको वास्तबिक शक्ति उद्घाटन हुन्छ भन्ने कुरामा गीतकार कम सचेत देखिए पनि, उनका गीतमा आशक्तिका पाटा र बाटाहरूका साथै जनबोलीको उदगार  भने घन्किएको छ । उनका रचनाको प्रस्तुति अभिदात्मक देखिएपनि लेखकीय धर्म, इमान्दारीता र पाठको मर्म के हो ? भन्नेकुरा हराएको छैन । शव्दमा अनुभूतिका रङ्गहरू खिप्दै गीत तथा मुक्तकका माध्यमबाट बिचार र बिचारका माध्यमबाट गीत तथा मुक्तक बोल्नसक्ने क्षमता उराठमा विकसित हुदैछ भन्ने नजीरहरू भने प्रसस्तैछन् सँग्रहभित्र । हृदयसंबेद्य भाव, सालीन शैली र सजक सर्जकीय मनको सुन्दर वगैचामा फुलेको प्रीतिको फूल, सङ्गीतका दृष्टिलेभने सरल र सहज छ ।

साहित्यको सर्वप्राचीन विधा हो गीत । शब्द, लय र सङ्गीतको उचित संमिश्रणबाट यसको जन्म हुन्छ । शैली, सिल्प र सुष्ठुको कलात्मकताले गर्दा, गीत सुनूँसुनूँ, पढूँपढूँ र गाऊँगाऊँ झै लाग्छ, जो यो सँग्रहमा धेरथोर देख्न सकिन्छ । साहित्य भाषाको सुन्दर र कलात्मक अभिव्यक्ति हो । यसैका माध्यमबाट हामी जीवन बोल्छौ, जगत बोल्छौ भन्ने सत्व उराठका मुक्तकको चिनारी बनेको छ । उनका गीत तथा मुक्तक सालीनताका द्योतक बनेकाछन् । गाउँको माटो र बाटोबाट अनुप्राणित गीत तथा मुक्तकहरूमा आफ्नै वैशिष्ट्य छ, समय सापेक्ष र जीवन सापेक्ष सुमधुर धून छ । उनका गीतमा आत्मपरकता, सङ्क्षीप्तता, आख्यानविहिनता, एक्वान्विति, वैयक्तिकता र सम्बोधनात्मक प्रस्तुति विशेषताका रुपमा र भाव, कल्पना, सङ्गीत र लय तत्वका रुपमा आएकाछन् । चार हरफे संरचनामा अनुबन्धित मुक्तकहरू बिचार संप्रेशणका दृष्टिले गीत भन्दा शसक्तछन् । भाव पनि गीतभन्दा मुक्तकमा नै बढि खादिएको महसुस हुनेछ पाठकहरूलाई । गीतका तुलनामा मुक्तकमा देशभक्तिको रङ्ग बढि घोलिएको भएता पनि आशक्तिकै अधिक्यता छ यहा पनि ।

उता त ठिकछ क्यारे, यतै भएन ।
हितकारी माया सँग, भेटै भएन ।

उनको पनि बारी बाझो मेरो पनि बाझै,
प्रीतिकोफूल फुलाउने, खेतै भएन ।
(खण्ड ख)

सँग्रहको मन्तव्यमा हरीदेवी कोईराला लेख्नुहुन्छ''देवीप्रसाद उराठले सिर्जनामा दिएको योगदान अनुकरणीय छ।'' त्यसैगरी देवीप्रसाद बनबासी लेख्छन् ''गीतमा उराठको हृदयपक्ष बढि भुल्भुलाएको छ भने मस्तिष्कपक्षको मात्रा नजानिदो तवरले रमाएको छ।'' स्वयम् उराठ आफ्नो भनाईमा भन्छन्''युग पारदर्शिताको हो। ढाट्न छल्न मिल्दैन अचेल। ढाट्नु महान पाप हो।'' यसर्थपनि यसो भन्न सकिन्छ कि देवीले जे लेखे मनैबाट लेखे, जस्तो लेखे जीवन र जगतका लागि लेखे।

साहित्य विविध भावनाहरूको कलात्मक अभिव्यक्ति हो। देवीले गीत तथा मुक्तकका माध्यमबाट क्रन्दन, पीडा र छटपटीको सघन सल्यक्रिया गर्दै वेदनाकी गङ्गा बगाएकाछन्। गरिवि चित्रण, ग्रामिण परिवेशको सङ्लो चित्र, आशक्तिका राग–पराग, प्रकृति स्पन्दन, देशप्रेमको चोखो अभिव्यक्ति, धोका, प्रताडना, मिलन–विछोड, संका–उपसंका, शान्ति–अशान्ति, प्रीतिकोफूलका विषयगत आधारहरू हुन्। प्रयोगधर्मिता र शिल्पविधानमा खासै चमत्कार नभएपनि, सङ्गीतकारको कला र गायकको गलाले सहजै रुचाउन र पचाउन सक्ने गीतहरूले गर्दा सँग्रह अब्बल बन्को छ। सँग्रहमा दुइटा युगल र एउटा झ्याउरे गीत छ भने बाकी “स्रष्टानिर्मित लय”का आधारमा लेखिएका गीतहरू समाविष्टछन्।

अन्त्यमा,
कलाको अर्थवत्तामाथि टिप्पणी गर्नु गाह्रो कुरा हो। त्यसमापनि पाठकको आग्रहलाई बुझेरमात्र पनि समीक्षा हुदैन। गम्भिर अध्ययनपछिका सटिक र तार्किक निष्कर्षका झट्का दिनसक्नु पर्छ समीक्षा मार्फत। हो.. त्यहीदिन सकिन मैले, क्षमाप्राथी छु। विशेषतः लेखकका पूर्व कृतिहरूको अध्ययन गर्ने सौभाग्य नमिलेकाले, उनको खास पृष्टभूमि अटाउन सकिएन। लेखकको पृष्टभूमि, विषयगत निरन्तरता, पुस्तकको आमुख, प्रकाशकीय टिप्पणी, लेखकीय, भूमिका, मन्तव्य, पुस्तकले दिन खोजेको कुरा, पुस्तकका गुणदोष, आदिलाई अलग–अलग शीर्षकमा राख्नु पथ्र्यो, किन्तु लेख लम्बेतानहुने कहरले त्यसो गरिएन। tasartha यसलाई सँग्रहको समीक्षाका रुपमा भन्दापनि सतही टिप्पणीकारुपमा स्विकारीदिन विद्वान पाठकवर्गहरूमा हार्दिक अनुरोध गर्दछु । र मेरो विस्वास “प्रीतिकोफूल”ले आम पाठकहरूलाई आफ्नै प्रकारको परागमा लठ्याउने छ ।

श्रीजन श्री
२०–१०–२०६८ मलेसिया
Unknown

Unknown

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment