Tuesday, 7 January 2014

केही बहरबद्द गजलहरु

केही बहरबद्द गजलहरु

केही बहरबद्द गजलहरु

shreejan shree
9 October 2013 at 22:30
1-
म छर्छु ज्योति विश्वमा भनेर सूर्य भन्छ र?
जले नि हाँस्छ व्योममा कतै निरास बन्छ र?

स्वतन्त्र हुन्छ मन्जरी वसन्तका बहारमा,
फुली सुगन्ध छर्न के अनेक वाग गन्छ र?

गरेर नित्य साधना सगर्व जुट्छ माहुरी,
मनुस्य झै फुटेर त्यो बिकिर्ण भै रहन्छ र?

कुरा अनन्त दिव्य ती गरेर स्वाभिमानका,
झुकेर देश भक्त कैँ अघोर गर्त खन्छ र?
रचना काल:विस २०६६
...............
2-
आगो बनेर आयौ पानी बनेर जाऊ।
जादा सुटुक्क मनका सारा कुरा बताउ।

देख्दा हिमाल मैले सम्झेँ भने पियारी,
छोप्दै मुहार आफ्नो भित्रै कतै लुकाउ।

भा'छन् बिभोर मेरा आँखा रसाउदै यी,
देखेर हाल यस्तो निर्धक्क मुस्कुराउ।

घुर्की दिदा मलाई फुल्छ्यौ गुराश जस्तै,
बिन्ती छ लाख लाखौं यस्तै गरी सताउ।
छन्द -दिक्पाल
रचना काल: सन २३-०३-२०११
................
3-
ढुङ्गो सधै ढुङ्गै रह्यो गल्दैन खै यो के भयो?
अन्यायको लंका अझै ढल्दैन खै यो के भयो?

नाङ्गै छ यो धर्ती यहाँ नाङ्गै छ यो वर्सौ किन?
भोकै छ है चुलो पनिs बल्दैन खै यो के भयो?

स्वप्ना थिए यो राष्ट्रको सेवा गरौ भन्ने तर,
यो देशमा हाम्रै कुरो चल्दैन खै यो के भयो?

ताराखसे लप्का उठे आधी चल्यो आगो बल्यो,
झन प्रातले लाली अझै दल्दैन खै यो के भयो?
(०१-०८-२०११,मलेसिया)
.........................
4-
गजल (मुजारे)
पैसा किनेर मान्छे, माटो बेचेर हिड्छ।
भोकै बसेर मान्छे ,आटो बेचेर हिड्छ।

पुग्ला कहाँ-कहाँ यो यस्तो उदन्ड गर्दै ??
यात्रा किनेर मान्छे, बाटो बेचेर हिड्छ।

फूल्को नि दुख्छ छाती जून्को नि दुख्छ हेर //
पीडा किनेर मान्छे, खाटो बेचेर हिड्छ।

पैसा किनेर मान्छे, माटो बेचेर हिड्छ।
भोकै बसेर मान्छे ,आटो बेचेर हिड्छ।
..................... ........
5-
वहर-मुजारे
बिर्सेंर देश आमा आगो लगाइँदैछ।
सौहार्द एकतामा आगो लगाइँदैछ।

बच्ला र के कसैको? यस्तो उदण्डतामा,
सारा दिशा-दिशामा आगो लगाइँदैछ।

निभ्ला कि द्वन्द्व सारा बढ्ला अझै अनन्त?
हाम्रा चुला-चुलामा आगो लगाइँदैछ।

ढल्नेछ राज पक्कै जल्नेछ खाग बन्दै,
तिम्रा टुनामुनामा आगो लगाइँदैछ।
................................................
6-
तिमी मेरो धड्कन् भन्यौ , जल्यो पापी जमाना यो ।
तिमी नै हौ जीवन् भन्यौ , जल्यो पापी जमाना यो ।

तिमी पारी रुझ्दै थियौ , म वारी बर्षदै झन्-झन् \\
अहो कस्तो तड्पन् भन्यौ , जल्यो पापी जमाना यो ?

तिमीलाई यो जिन्दगी , दिए राजा धरोधर्म \\
नगर्नू है दोमन् भन्यौ , जल्यो पापी जमाना यो ।

थियो माया माया सँगै , रमाएकी थियौ प्यारी\\
बढ्यो माया झन्-झन् भन्यौ , जल्यो पापी जमाना यो ।
isss+ssis+isss+isss=16 
...........................
7-
न बढ्थ्यो कि धड्कन् , तिमी साथ छैनौ ।
न  हुन्थेँ समर्पण् , तिमी साथ छैनौ ।

बसेकोथें एक्लै , म घायल् बनेर ,\\
न हट्थ्यो कि तड्पन् ,तिमी साथ छैनौ ।

तिमी सान मेरी, तिमी मान मेरी \\
र दिन्थेँ म गर्दन् ,तिमी साथ छैनौ ।

थियो हर्स सारा , सधैं जिन्दगीमा \\
म रुझ्दै छु , झन्झन् तिमी साथ छैनौ ।

बिहानी उसाको ,मुना फक्रिए झै \\
न हास्थ्यो कि आगन् ,तिमी साथ छैनौ ।

सधैं बाघ जस्तो , फुलाएर छाती \\
न गर्थेँ कि गर्जन्, तिमी साथ छैनौ ।

हराएर आँफै ,छु पागल् मदन् झै \\
तिमी मै छ तन्मन्,तिमी साथ छैनौ ।    

झुकी ईन्द्र राता र काला हुनेथे \\
म हाक्थेँ सिहासन् ,तिमी साथ छैनौ ।
मुतकारिब 3x4
....................
8-
जादै छु दूर भन्दै बाटो जलाउदै छौ।
जन्मेर हुर्किएको माटो जलाउदै छौ।

कस्तो कठोर बन्छौ  विर्सेर कोख छोरा?
दस्धार दूधको नै टाटो जलाउदै छौ।

गर्दा विनास मात्रै केको  बिकास हुन्थ्यो? 
आफन्त वीच लड्दै खाटो जलाउदै छौ।

कस्तो भविस्य होला भुल्दा उद्देश्य आफ्नो?
अन्मोल जिन्दगीको पाटो जलाउदै छौ।
...................
9-
आगो बनेर आयौ पानी बनेर जाऊ।
जादा सुटुक्क मनका सारा कुरा बताउ।

देख्दा हिमाल मैले सम्झेँ भने पियारी,
छोप्दै मुहार आफ्नो भित्रै कतै लुकाउ।

भा'छन् बिभोर मेरा आँखा रसाउदै यी,
देखेर हाल यस्तो निर्धक्क मुस्कुराउ।

घुर्की दिदा मलाई फुल्छ्यौ गुराश जस्तै,
बिन्ती छ लाख लाखौं यस्तै गरी सताउ।
...................
10-
झुकेर पलपल अचम्म पर्दै नसीव यस्तै थियो नभन्नू।
इँमान आफ्नो लिलाम गर्दै नसीव यस्तै थियो नभन्नू।

गरेर केही स्वदेशमा नै फलोस् फुलोस् स्वाभिमान तिम्रो,
भुलेर माटो बसाइँ सर्दै नसीव यस्तै थियो नभन्नू।

छ जिन्दगीको कठोर यात्रा,कठोर यात्रा छ जिन्दगीको,
हरेश खाएर जाम भर्दै नसीव यस्तै थियो नभन्नू।

डटेर संघर्स गर्न छोडी अघोर अन्यायको विरुध्द,
नयन् भिजाएर आँसु छर्दै नसीव यस्तै थियो नभन्नू।
.........................
11-
कयौ फूल मौसम वहारौहरूमा।
तिमी एक हौ ती अनेकौहरूमा।

थियो सूर्य बल्दा अँध्यारै अँध्यारो,
उदायौ तिमी  बर्षबर्सौहरुमा।

गनौ छन् हजारौ र लाखौं सितारा,
तिमी जून हौ लाख-लाखौंहरूमा। 

तिमी फुल्नु खुल्दै  र फुल्दै हँजारी,

यही रीतहोस् जन्मजन्मौहरूमा। 

हँजारी= (सयपत्री, डोतेली भाषामा)
...............
12-
खसी सूर्य जस्तो अचानक्-अचानक्।
भयो भेट कस्तो अचानक्-अचानक्?

यहाँ जिन्दगानी थियो है अमूल्य,
भएको छ सस्तो अचानक्-अचानक्।

तिमी भोकमा छ्यौ म चै सोकमा छु,
पर्‍यो मार यस्तो अचानक्-अचानक्।

गरी फूलका बात साच्चै अचम्म,
छ यो शूल पस्दो अचानक्-अचानक्।
....................
13-
नदेख्दा मलाई भिगायौ नि गाला।
र देख्दा मुहारै छ त्यो अग्निज्वाला।

तिमी मात्र, एउटा चढ्यौ त्यो उकालो,
अझै जिन्दगीमा कयौछन् उकाला।

छ कर्के नजर त्यो त्यसै ज्यानमारा,
तिमी झिक्दछौ  झन् खुँडा तीर भाला।

दिएँ जिन्दगी यो तिमीलाइँ  भन्थ्यौ,
उनेछ्यौ अरूलाइँ नै फूलमाला।
.................
14-
डढेर खाक भै गयो  जलेर आँसुको कथा।
म रुन्छु रुन्छ झन् बढी गलेर आँसुको कथा।

सधैं छु अस्तब्यस्त लौ सधैं छु त्रस्त टम्मिदै,
र बग्न सक्छ जिन्दगी ढलेर आँसुको कथा।

हजार दु:ख वेदना र लाख चोटखोटले,
छ ज्योति झै छ चम्किदै बलेर आँसुको कथा।

थियो नि साथसाथ यो  म जन्मदा र हुर्कदा,
र बच्न सक्छु नै कहाँ छलेर आँसुको कथा।
............................
15
बहरे बसित
आकाश झै खुल्न द्यौ नेपाल यो विश्वमा।
स्व्च्छन्द भै फुल्न द्यौ नेपाल यो विश्वमा।

थुन्दै तिमी खोरमा आजाद छौ भन्दछौ,
आजाद भै डुल्न द्यौ नेपाल यो विश्वमा।

गर्दै गए सत्रुता बच्ला र के भावना?
भात्रित्वमै भुल्न  द्यौ नेपाल यो विश्वमा।

आगो छरे खेतमा बाली कहाँ झुल्छ र?
उन्मुक्त भै झुल्न द्यौ नेपाल यो विश्वमा।
..........
16
बहर
नतर्नु आँखा तिमी मलाई छ प्रेम मेरो अनन्त प्यारी।
नगर्नु संका मनै जलाई छ प्रेम मेरो अनन्त प्यारी।

हिमाल जस्ती पहाड जस्ती मधेस जस्ती थियौ  हसीली,
नझार्नु मोती नयन गलाई छ प्रेम मेरो अनन्त प्यारी।

म भुल्न सक्थेँ कहाँ र प्यारा सहिदहरुका ति बीर गाथा,
सदैव सच्चा सपूतलाई छ प्रेम मेरो अनन्त प्यारी।

भुल्यो कि भन्ने नठान्नु माटो र जिन्दगी यो छ प्राण जस्तो,
सधैं म सम्झन्छु देशलाई छ प्रेम मेरो अनन्त प्यारी।
..................
17
बहरे- हजज
मलाई देशको छाती जलेको गीत चाहिन्न्न।
जलेरै जीर्ण भै आँफै ढलेको गीत चाहिन्न्न।

छ टुक्रा देश यो मेरो अनौठो व्दन्द  मारैले,
अझै झन् व्दन्दको आगो बलेको गीत चाहिन्न्न।

दिदा दील यी दियौ धोका दुखाई लाखलाखौं मन,
मलाई स्वार्थको हावा चलेको गीत चाहिन्न्न।

सवै हासुन् सवै खेलुन् खुसीका रंगमा रम्दै,
नयनमा आँसुका  ढिक्का गलेको गीत चाहिन्न्न।
..................
18
बहरे- हजज
जता गैरो उतै पैरो गएको हेर्न सक्थेँ र?
म कैल्यै देशले पीडा सहेको हेर्न सक्थेँ र? 

न लाटो हूँ न बैरो नै न हूँ घाती न अन्धो म,
र साच्चै सत्यको हत्या भएको हेर्न सक्थेँ र?

उसाको लालिमा खुल्ने सुनौला गाउबस्तीका,
नयनमा आसुँका खोला बहेको हेर्न सक्थेँ र?
...............
19

Unknown

Unknown

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment