Friday, 24 January 2014

जीवन भोगाइको प्रतिविम्व

जीवन भोगाइको प्रतिविम्व

जीवन भोगाइको प्रतिविम्व

15 September 2011 at 10:43
                                                                                                                     श्रीजन श्री

 कृति :        कालो बादलभित्रको चन्द्रमा                                         
 विधा :      गजल
गजलकार : दीप दर्शन
प्रकाशक :   त्रिभुवन शाही
मूल्य :        ६०
संस्थागतः       १५०



“कालो बादलभित्रको चन्द्रमा ''  दीप दर्शन व्दारा सिर्जित गजल संग्रह हो ।
 जम्मा ६० वटा गजलहरु समावेस गरिएको यो संग्रहमा ५१ वटा मुरद्धफ र ९ वटा गैर मुरद्धफ गजलहरु रहेको देखिन्छ । काफियाका दृष्टिले ४६ वटा पूर्ण काफिया, १०वटा आंशिक काफिया र ४वटा काफिया विहिन गजल (उसो त काफियारहित रचनालाइ गजल भन्न   मिल्दैन ।) राखिएको देखिन्छ। आधा मुसलसल र आधा गैर मुसलसल गजलहरु रहेको संग्रहमा, २२वटा शृङ्गारिक, २वटा सूरापान, एउटा लोक, एउटा नारीवादी, ४टा गजलकै विषय उप्काइएका र बाँकी राजनैतिक मूल्य विघटन,अन्याय अत्याचारको बिरुद्द,गरीवि चित्रण,सीमा अतिक्रमण,जीवन प्रतिको आशा–निरासा र कुण्ठा, प्रवासी पीडाका अतिरिक्त विविध प्रकारका विकृति–विसङ्गती विरुद्द मात्र नभइ श्रमीकहरुको आवाज समेत अभिगुञ्जित भएका गजलहरु राखिएकाले पनि संग्रह वहुमूखी बनेकोछ भन्न  सकिन्छ।

                यो छोटो बसाइमा संग्रहको शल्यक्रिया गर्न असम्भव छ र यो समीक्षा भन्दापनि संग्रहमा देखिएका केही कमजोरीहरु औल्याइदिने प्रयास हो भन्ने  बुझीदिन पाठकहरुलाइ निबेदन गर्दछु । यहा “श्रीखण्डलाइ सुठो र सुठोलाइ श्रीखण्ड पनि बनाइन्छ ।”तर छातिमा हात राखेर लेख्ने हो भने कमजोरी औल्याइदिनु भनेको सर्जकलाइ आगामी यात्राकोनिम्ति मार्ग प्रसश्त गरिदिनु हो भन्ने  बुझेको छु मैले

जसले साहित्यलाइ जीवन सम्झन्छ, उसले गाली रुचाउछ जसले साहित्यलाइ साधन सम्झन्छ, उसले ताली रुचाउछ एउटा इमान्दार सर्जकका निम्ति आलोचना सर्वदा स्वीकार्य हुन्छ र हुनु पर्छ पनि । पाठकहरुलाइ के पनि निवेदन गर्न चाहन्छु भने यहा केही मूल प्रवृतिहरुको मात्र उठान गर्ने प्रयास गरिएको छ । र दोष इतरका विषयहरु स्वतः उज्याला र राम्रा पक्षहरु हुन् । जस्को बारेमा बोलीरहनु उचित लागेन । हुनपनि सूर्यलाइ नाङ्गो आँखाले कतिञ्जेल पो हेर्न सकिन्छ र ?

                                मनमोहक वगैचाहुन् बेकामे झार होइनन्
                                 सुमधुर स्वरका धनीहुन छिनेका तार होइनन् ( गजलः२ )

गजलकार दोस्रो गजलबाटै चिप्लिएकाछन् । अस्पष्टता नामकदोषले ग्रस्त छ यो शेर । यहा “ मनमोहक वगैचाहुन् बेकामे झार होइनन् ।”कसलाइ \के लाई भन्न  खोजिएको हो स्पष्टछैन । भनिन्छ, उलाले कौतुहलता सिर्जना गर्नुपर्छ । ल एकै छिनका निम्ति कौतुहलता जन्माएको मानौ यो उलाले । उसो त  कौतुहलपूर्ण छ पनि । तथापि मिसरा–ए–सानीले कौतुहलताको उचित समापन, ( विषयको औचित्य पुष्टि ) त गर्नु पर्‍यो  नि हैन र ? तर यहा त्यो देखिदैन । बरु “सुमधुर स्वरका धनीहुन छिनेका तार होइनन् ।” भनेर सानीले अर्को प्रश्न खडा गरिदिएको अवस्था छ । यसरी उलाले मनमोहक वगैचा र झारका र सानीले सुमधुर स्वर र तारका कुरा उप्काएका यी मिसराहरु वीचको तालमेल समेत खच्पचिएकाले “असम्बद्धता दोष” ले समेत छोपेको छ यो शेरलाइ । संग्रहका अन्य केही गजलहरुमा पनि यस्तै पवृति दोहोरिएको छ ।

                                हजुर सारै सोझो एउटा गाउले ठिटो परेँ,
                                तिम्लाइ पनि सोझी ठानी चोखो माया लाएँ मेले ( गजलः११ )
यहा भावका दृष्टिले मिसराहरु वीचको तादात्म्यमा कुनै कसुरछैन । सतहीरुपमा हेर्दा अन्य दोषहरु भेट्टाउन पनि गाह्रो छ किन्तु  भित्रै पसेर हेर्दा एउटै गजलको उलामा अति उच्च आदरार्थी वर्णगुच्छ हजुर र सानीमा तिमी जस्तो सामान्य आदरार्थी सर्वनाम आएकाले “असम्बद्धता दोष”चाहि खट्केको मान्न  सकिन्छ ।

                                यूवासबै \विदेशतिर \खुन पसिना \बगाउने ,
                                दलालीलाइ \रकम अ\ सुल्न देउ ए\हाम्रा नेता\हजुर
यो शेरले मानव वेचविखन विरुद्द घनघोर आवाज उठाएकोछ । देशका कर्णधारहरुलाइ विदेश पलायन गराएर राजनीतिगर्ने नेतृत्वपंति,गरिवका खुनपसिनामा मोजमस्ती गर्ने दलालहरु र आफ्नै पैसामा वेचिएर खुन पसिना बगाइ रहेका श्रमीकहरु प्रतिको दृष्टिकोण बडो मिहिन भएर उप्काइएको छ यहा । परन्तु  लयका दृष्टिले शेर जगल्टिएको छ । लय गजलको निर्विवाद र अनिवार्य सर्त मानिनु पर्छ। प्रत्येक मिसराहरु पढ्दा लाग्ने समय यसो भनौ ki  यति गतिको ठिक–ठिक पालना,अक्षरगत र मात्रागत एकरुपताको अनिवार्य निर्वाह भएकैहुनु पर्दछ गजलमा । गजल गाइने विधा भएकाले पनि लय बढि अपेक्षित हुन्छ यसमा । माथिको शेर अक्षरगत \ मात्रागत वा अन्य जुनसुकै कोणबाट हेर्दापनि लयात्मक बत्र सकेको छैन । उसो त संग्रहका अन्य केही गजलहरुमा पनि लयसंकुचनता देखीएकाले  संग्रहमा बादल लागेकोछ भन्न सकिने साक्ष्यहरु धेरैछन् ।
                     
                                    तिम्रो दिलको मझेरीमा मलाइ वास देउ न लै लै ।
                                सधै तिम्रो ममताको मिठो गास देउ न लै लै ।

                                अजम्बरी को हुन्छ र, दुइदिन बाच्दा साथ देउ,
                                ढुकढुकी चलाउन थोरै साहस देउ न लै लै । (गजल ः३० )
                                                                ०००

                                लोकतन्त्र ल्याउने पनि आफू नै परियो साथी ।
                                राजतन्त्र हटाउने काम पनि गरियो  साथी ।

                                सहमतिका हस्ताक्षर मेटिदै गा‘का छन् रे ?
                                आखिर यस्तै भने त के लछारियो साथी । (गजल ः१८ )

                                                     ०००
काफिया विहिन गजल, गजल होइन । यहाँ गजलकार काफिया छनौटमा नराम्ररी चुकेका देखिन्छन् । (गजल :३० )मा सामान्यतया वास\गास  जस्ता काफियाको हमकाफियाको रुपमा आस,पास,सास,लास  जस्ता पदहरु आउनु पर्नेमासाहसको हस”ले हम काफियाको भार बोक्न सक्दैन । त्यसो त सास को ठाउमा प्राविधिक कारणले “साहसआएको हो कि भन्न  सकिने ठाउ पनि छ नै । तर (गजल :१८ )को परियो\गरियो को हम काफियाका रुपमा प्रयुक्त “लछारियो”र  ( गजलः३९ )को सगरमाथा\गाथा जस्ता काफियाको हम काफियाको रुपमा आएका कथा,व्यथा जेथा वर्णगुच्छहरुलाइ के भन्ने ?  उता ( गजलः ४) मा प्रयुक्त सार्यौ, मार्यौ, लछार्यौ, चार्यौ,  को हम काफियाका रुपमा तर्यौ जस्तो अनुप्रास भिन्न काफियाको छनौट गरिएको छ । तसर्थ यी चारवटै रचनाहरु गजल बन्न  सकेका छैनन् । अध्ययनको कमी वा हतारमा सिर्जना  गर्नु वा रचनाकारले आफ्नो सृजन कर्ममा सजकता नअपनाउनु वा अन्य यस्तै–यस्तै कारणहरुले यस्ता कमजोरीहरु दोहोरिने गर्दछन् । सामान्य अनुप्राससम्म न मिलेका थोरै\मेरै\दूरै\धेरैपक्का\ठेक्का\हुक्का\सिक्कागाथा \जेथा\कथा\व्यथा जस्ता वर्णगुच्छहरुमा नवसर्जकहरु अल्मलिनु स्वभाविक मान्न सकिन्छ तर दीप दर्शन जस्तो करिव एक दशक देखि गजल सृजनामा तल्लिन गजलकार पनि यसरी अल्मलिनु स्वभाविक मान्न  सकिदैन । हुन सक्छ अन्य कुनै कारणले यी तुर्टिहरु आएका होलान् किन्तु संग्रहमै यसरी काफिया विहिन गजलहरु प्रकाशित भइसके पछि, संग्रह लाइ केही धक्का लाग्छ नै । उता ( गजलः १२ र २६ )मा काफिया पुनरावृति दोष रहेकाले दातमा ढुङ्गा लागेको महसुस हुन्छ।

                कालो बादलभित्रको चन्द्रमामा तखल्लुसको कतै सार्थक त कतै असार्थक प्रयोग गरिएको छ । कतै–कतै पेग,पाउडर,फेस जस्ता अंग्रेजी शव्दहरु त कतै हिन्दि–उर्दूका प्रचलित शव्दहरुको अनुकरण÷प्रयोग पनि गरिएको छ । तर पेग,पाउडर,फेस जस्ता शव्दहरुले संग्रहलाइ क्लिष्ट बनाएका छन् । एकाध गजलमा आफ्ना अग्रजहरुको प्रतिविम्व पनि उतारेकाछन् गजलकारले । अपूर्णता,दुरुहता,कालवाचक असम्बद्धता, विषय वाचक असम्बद्धता, कुरुपता,विक्षेप,शव्द संकुचन, वजन भङ्गता,वहर हिनता लगायतका दोषहरु कतै–कतै आएपनि संग्रह बेकामकै चाहि  छैन।

                यो पहिलो गजल संग्रह हो दीप दर्शनको । पहिलो प्रयासमै पनि कालो बादलभित्रको चन्द्रमाले बादललाइ चिर्ने साहस गरेको छ । रुपक र उपमा अलङ्कारको पुटपनि पाइन्छ संग्रहभित्र । भाषाको सालिनता र कथ्यको सटिकताले संग्रह बोधगम्य बनेको छ । तिख्खर र निख्खर भावाभिव्यक्तीले गर्दा संग्रहका कुनैकुनै गजलहरु दोहोर्याइ तेहर्याइ     पढ्दा पनि धीत मर्दैन । शैलीगत लेपनता र साङ्गीतिक छटाले भरिएका केहि गजलहरुले पाठकहरुलाइ फूलमा पुतली झुम्मिए झै झुम्याउनेछन्। कुनै–कुनै गजलहरुले पानीमा आगो लगाउछन् भने कुनै–कुनै गजलहरुले आगोमा पानी खन्याउछन् । आशा र निरासाले थिल्थिलिएको यो संग्रह डायस्पोराको गजल साहित्यमा महत्वपूर्ण उपलब्धि हो।

                संग्रहको विशेषता भनेकै  देखे भोगेका कुराहरुलाइ जस्ताको त्यस्तै पाठकहरु सामू पस्कनु नै हो ।
      
                 लैनोभैसी साउले लग्यो के को खानु खीर साथी
                 उनै जोत्छन् गैरीखेत झनै पर्‍यो पीर साथी (गजलः ३२ )
                      
                                                                 ०००
                                मोतिराम भट्टको नासो हो यो गजल
                                हिरामोति सूनचाँदी कासो हो यो गजल (गजलः ४१)
                                                                      ०००
                                चुरापोते सिन्दूर लायौ त्यो दिनदेखि नेलमा हुन्छ्यौ
                                रहरफुल्छ पराइघरमा त्यो दिनदेखि जेलमा हुन्छ्यौ (गजलः २४)
                                          ०००
                                हेर्दाहेर्दै छलिगइन् विद्यानास ढाट्या भए
                                अर्कै सित चलिगइन् विद्यानास ढाट्या भए (गजलः २१)

संग्रह पढिरहदा लाग्छ सरल र सरस वर्णगुच्छहरुको गठजोडमा सर्जक अत्यन्तै सचेतछन् । हिउले पोल्छ र घामले कठिङ्ग्य्राउछ भन्नेकुरा मान्न तयार छैन यो कालो बादलभित्रको चन्द्रमामा। फूलको आगो र आगोका फूल फुलाउनु भन्दापनि जीवन र जगतसँग साक्षातकार गर्दै भोगाइको प्रतिविम्व उतार्न उद्यत देखिन्छ संग्रह ।  यसर्थ पनि यो संग्रह, जीवन भोगाइको सघन दस्तावेज हो भन्न  सकिन्छ । यतिखेर यति भनौ कि कालो बादलभित्रको चन्द्रमामाले कालो बादल र दीप दर्शन भित्रको दीपले कालरात्रीलाइ अवश्य चिर्नेछ । हार्दिक शुभ कामना.......
                                                                                             
                                                                                                                        श्रीजन श्री


 15 September 2011 at 10:43
at malaysia
Unknown

Unknown

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment