Tuesday, 7 January 2014

कविताहरु

कविताहरु

 कविताहरु

20 July 2013 at 22:22
.................
प्रमाणपत्र विहिन बेश्यालय
.....................
हो मेरी आमा वेश्या  हुन् रे
उनले काढा सँग सम्भोग गरेकिछिन्
छाडा सँग सम्भोग गरेकिछिन्
अनुहारमा घाइते घाम बोक्दै-  
उनी पथ्थरको समाजमा पथ्थरै बनिन्.
बिधुवा हिमाल झै तन बोकेर
सल्लाका पात झै मन बोकेर
उनी राधा बनिन् र कृष्ण भोगीन्
हो मेरी आमा वेश्या  हुन् रे।
................

हो मेरी आमा वेश्या  हुन् रे
उनले ढुङ्गा सँग सम्भोग गरेकिछिन्
माटो सँग सम्भोग गरेकिछिन्
एक भारी जूनको साथमा राम सँग
एक अंगालो बादलुको साथमा हराम सँग
नांगो हत्केलाको पर्दा लगाएर
खुलेआम यौवन बेचेकीछिन्
अचानो जस्तै तन बोकेर
खुकुरी जस्तै मन बोकेर
उनी अहिल्या बनिन् र ईन्द्र भोगीन्
हो मेरी आमा वेश्या  हुन् रे। 

..................

हो मेरी आमा वेश्या  हुन्  रे
उनले जोगी सँग सम्भोग गरेकिछिन्
ढोगी  सँग सम्भोग गरेकिछिन्
मलाई फूलको सुगन्ध पढाउने मेरा गुरु -
मेरी आमाको हत्केलामा  गुलावी बैश पोख्छन
र किन लाल सभ्यतामा रमाउँछन्?
मलाई चेतनाको घाम सेकाउने मेरा 'बा'
मेरी आमाको छातीमा धर्मको हलो जोत्छन
र किन त्यसै-त्यसै  रमाउछन्??
मेरा गुरुकी मन्दोदरी/प्रियावादिनी   
मेरा 'बा'की मदमोहिनी/कामवासेनी \
पाँच पान्डवकी त्रिस्नावती
बिष्णुदेवकी जालन्धारी
मेरी आमाले-
हिर्दयमा आसंकाको मस्यौदा लेखीन्
अधरमा च्याउरिएको हासो हासीन्
र  आफ्नो अवयव लिलाम गरीन्
हो
खाली सिउँदो झै तन बोकेर
चिसो हिउदो (हिउद)   झै मन बोकेर 
उनी कुन्ती बनीन् र व्यास भोगीन्
हो मेरी आमा वेश्या  हुन् रे।
..................

ओ कृष्ण ,ईन्द्र,बिष्णु , व्यास, मेरा बा र गुरु जी
तिमीहरुले रातो वैश बाच्यौ
फूलको हासो हास्यौ
तर बिचरी  मेरी आमा
तर बिचरी  मेरी आमा
पथ्थरको समाजमा पाथ्थरै बनीन्
र पल-पल मरी रहीन् ।
त्यसैले
तिमीहरु वेश्या हौ
र यो पुरुष सभ्यता प्रमाणपत्र विहिन वेश्यालय हो ।
...............................
2-
अक्षर ब्रिस्टि
----------------
प्रिय......
तिम्रो मुस्कानको पहाडबाट 
मेरो गजलको जुलुस
मेरो कबिताको आन्दोलन
र मेरो कथाको र्याली
एक भारी अक्षरहरु बोकेर उकालो चढ्दैछ ।
.............

तिम्रो मुस्कानको तराइमा
अक्षरको हलोले- समयका सुक्खा पाना जोत्दै
छरेर शब्दको बिउ
म वाक्यको खेती सोहर्दैछु।
.............

हो प्रिय
तिम्रो मुस्कानको तराइ
र तिम्रो मुस्कानको पहाडमा टेक्दै
म हिमाल हुँदै आकासिदैछु। 
म आकाश हुँदै आकासिदैछु। 
तिम्रै निम्ति
केवल तिम्रै निम्ति
अक्षर ब्रिस्टि गर्न।
...............

3-
आतंककारी हुनै सक्तैनन्
----------------
बाबा मैले पत्याइन
आफ्नै आसुको खोलामा
जिन्दगीको डुंगा खियाउनेहरु
आतंककारी हुनै सक्तैनन्।
............

उन्मुक्तिको धुन भरेर बासुरीमा
मादलुमा भरेर क्रान्तिको ताल
घामको गीत सुसेल्ने पखेरो
यूगको आवाज घन्काउने डम्फु र
आँखाको पहाडमा उक्लेको सेतो सपना
कसरी आतंककारी हुन्सक्छ?  
..............
हो बाबा
हो बाबा मैले पत्याउदै पत्याइन
अन्जुलीमा निर्मल कोशी बोकेर हिमालको चित्र हेर्नेहरु
हिर्दयमा बुद्द बोकेर कालो सभ्यताको बिरोध गर्नेहरु
फूलका पातपातमा सुगन्ध सौन्दर्य पोत्नेहरु
हत्केलाको मैदानमा स्वयम् भाग्यको रेखा कोर्नेहरु 
हिमाल जत्रो हासो
पहाड जत्रो खुसी र
तराइ जत्रो मन बोक्नेहरु
हो बाबा- आतंककारी हुनै सक्तैनन।
06-02-2013malaysia
.......................
4-
आगो फुलाउँछु

--------
म रगत रुन्छु
ऊ लालिगुराश झै हाँस्छ ।
म माटो रुन्छु
ऊ मखमली झै हाँस्छ
म शीत भन्छु
ऊ घाम भन्छ।
म आकाश ओढ्छु
ऊ धर्ती ओढ्छ ।।
हो
ऊ धर्ती ओढ्छ ।।
...........

म आफ्नै मुटुमा हात राखेर छिद्रान्वेशण गर्छु
दु:खको रङ कस्तो हुन्छ ह ?
बतासको रङ र आँशुको हासो कस्तो हुन्छ हँ ??
ऊ हावामा कावा खाइरहेछ।
म नाम भन्छु-
ऊ दाम भन्छ।
हो
ऊ दाम भन्छ।
..................

मेरो सुकेको घाटी देखाएर  -
ऊ डोकोभरी दूध भर्छ र प्यास मेटाउछ ।
मेरो चिसिएको चूलोले-
ऊ सूनचाँदी डाँकार्छ
मेरो निधारको कुलोले-
ऊ बगर सिन्चन्छ
अहो
म त तराइ बनेछु दु:खको
पहाड बनेछु दर्दको र
हिमाल बनेछु आँशुको
हो
हिमाल बनेछु आँशुको.
..............

ऊ कृष्ण  वैश बाच्छ
म राधा जीवन मर्छु।
ऊ ईन्द्र दृष्‍टि बाच्छ
म अहिल्या जीवन मर्छु। 
ऊ निर्बन्ध-निर्बन्ध उड्छ
म जटायू जीवन मर्छु ।
ऊ दशरथ- म कौशल्या
मेरो अंगालोभरि बादल-
उसको अंगालोभरि आकाश
हो
उसको अंगालोभरि आकाश।
....................

ऊ आगोमा पानी हुन्छ
म पानीमा आगो हुन्छु।
ऊ नानीमा आँखा हुन्छ
म आँखामा नानी हुन्छु।
साच्चै
ऊ चोटमा तरवार फुल्छ
म तरवारमा चोट फुल्छु। 
ऊ फूलमा हिलो फुल्छ
म हिलोमा फूल फुल्छु
हो
म हिलोमा फूल फुल्छु।
..............

हो हो
हो म,मन भित्रको अग्निकुन्डमा राम होमिएकी सीता
म कुन्ती
म तारा
म द्रौपदी
म मन्दोदरी
अब
अबदेखि आँखामा पिरैपिर होइन
राको फुलाउँछु राको
अबदेखि आँखामा कृष्णभिर होइन
आगो फुलाउँछु आगो।  
.........................

5-
कबिता
सिर्सक यहाँहरुको जिम्मा ....

-----------------
अचेल .......
मेलम्चीमा प्यास र
हिर्दयमा बाग्मति बग्दा
बाग्मतिमा काठमान्डौ बग्छ र भन्छ
ॐ नमो शिवाय ।
र यती खेरै
चिसो चूलोमा पाकेको भोक चपाउदै
जब म रोल्पा सम्झन्छु
चिसो चूलोमै तातेको हिउद ताप्दै
जब म डोल्पा सम्झन्छु
तब बेसाहा सकिएको थैली हासे झै
उन्मुक्त हासो हास्दोरैछु
र त म गोर्खाली भएँ ।
..............

साच्चै जल्जला
तिम्रो गालाको लाली गुँरास
हासोको आसु कि आसुको हासो हाँस्छ ह ?
यहाँ त धप्प रात बलेको बेला
डोकोमा दूध दुहुनेहरुछन् ।
जूनको घाम ताप्दै -
माटो र मुटु कुप्लुक्क निल्दै
खुसी छाद्नेहरुछन् ।
के ...................
जातोमा दलिएको इज्जत
फेरि संलो बन्न सक्छ र ??
आमा,
फाली सँगै जोतिएको सपना
आँखाको पहाडबाट खसेर
आँखामै फर्कन सक्छ र ???
...............

मनाङ
नाम्लोमा बाधिएको स्वतन्त्रता
हिउले खारिएको सार्बभौमता समेत
आगो सँग बग्दै र
बगाइ  सँग आगो बन्दै नुन सँग फापर हैन
फापर सँग आन्द्रा चपाउछौ र
टन्न अघाएको अभिनय गर्छौ ।
तर के गर्नु ?
सरकारलाइ सोलखुम्बु दुख्दैन ।
..............................

दर्चुला
भोटोको टालोमा फाटेको जीवन
टोपिमा उध्रने भबिस्य र
घासको भारिमा bhagya  बोक्दै -
अपी सयपाल छुन खोज्छौ ।
तर के गर्नु?
काठमान्डौलाई कालापानी दुख्दैन ।
आमा .......
मेरा प्रत्येक आगनिहरु
सुस्ता झै स्वतन्त्र भैदेको भए 
आहा ...... मेरो मन पनि
सिहदरबार झै मुस्कुराउथ्यो कि??
................

6-

यही हो कि परिवर्तन ?

16 September 2011 at 18:02

जीवन गीत गाउदा-गाउदै
कोइली काग र काग कोइली भएछ ।
यही हो कि परिवर्तन ?
अबत गाई "गधा" र
गधा "गाई" हुने बेला पनि भो ।
...........

साथी ..................
मान्छेको खोजी गर्दा-गर्दै
चकमन्न उज्यालोमा
निस्पट्ट अध्यारोमा
उज्यालोमा-अध्यारोमा
अध्यारोमा-उज्यालोमा
के बाच्दैछौ गन्धारी पट्टि।
यो होइन
धिर्तरास्टको युग ।
.......

सक्छौ?
छाती तन्काएर बिशाल फाट बनाउन ?
विस्फारित आँखाहरु
लोलाएका लोलायैछन ।
यहाँ मन ,माटो र मुटुका कुरा गर्नु हुन्न ।
बिचारहरु \भावनाहरु \चाहनाहरु
टोलाएका टोलायैछन ।
......

सक्छौ ?
जुरुक्क हिमाल उठाएर हिर्दयमा सजाउन ?
..........

नदी उभो र बिचार  उधो बग्दा
तिमी समयलाई करणि गर्न खोज्दैछौ .
समय तिमीलाई बलत्कार गर्दैछ।
करणि -बलत्कार
बलत्कार- करणि
त म के भनूँ ?
साथी ..............
जीवन गीत गाउदा-गाउदै
कोइली काग र काग कोइली भएछ ।
यही हो कि परिवर्तन ???
-----------------

7-

प्रश्न? 

धुर्माइलो बसाइ
धुम्मर्ध्वास समय
एक चिम्टी सपना
सौ चिम्टी पानी
तिमी सोध्छ्यौ प्यारी
जिन्दगी के हो?

 मान्छे शहर भित्र
शहर मान्छे भित्र
केचना सगरमाथामा
सगरमाथा केचनामा
एक चिम्टी सपना
सौ चिम्टी पानी
तिमी सोध्छ्यौ प्यारी
जिन्दगी के हो?


घाटी तरवारमा  
तरवार घाटीमा
भोक चूलोमा
चूलो भोकमा
कलम बन्दूकमा
बन्दूक कलममा
एक चिम्टी सपना
सौ चिम्टी पानी
तिमी सोध्छ्यौ प्यारी
जिन्दगी के हो?


आकाशको गहिराइ
पतालको उचाइ
हिउको तातो
घामको चिसो
ओठको गुलाब
गुलाबको ओठ
आँखाको फूल
फूलको आँखा
तिमी सोध्छ्यौ प्रिया
जिन्दगी के हो?
लाटी,
हावाको रंग भन्न सकिन्छ र?
 ..................

8-
ए जून

ए जून तिमीलाई,
तिमीलाई कसैले फूल जस्ती देखे
कसैले
यादहरु छोडेर गएकी प्रेमीका जस्ती।
देखे कसैले आमा जस्ती
सुम्सुम्याइ रहेकी कपाल।
किन्तु
म बिचरो सुकुम्बासी
छुँ भोको सदियौ देखिको
माफ गर ल
म भने देख्दै छुँ
एउटा पूर्ण रोटी जस्तै..रोटी जस्तै।
....
-श्रीजन श्री
9-
यादको पहिरो
---------
स्वामी,
के छ समाचार?
सन्चो बिसन्चो??
परदेशको हाल खबर???
प्रिया,
आँखाको पहाडबाट
खस्दैछ निरन्तर
यादको पहिरो।
............
10-
पानी फोटो
----------

जब आमाले
यादहरुको यादमा डुबेर
सम्झनाको नाइल नदी
नयनका तिरैतिर छचल्काएको देखेँ,
तब सहनै सकिनँ कृष्णभिरको भार
र च्यातिदिएँ
मेरा शहिदपिताको एकमात्र पानीफोटो। 

----------

11-
नविन भीस्मको स्विकारोक्ति
------------

पितामा झैँ
अनिर्णयको बन्दीभएर
मैले मेरो हस्तिनापुरको अनुहारमा
एक पल्ट होइन
दुई पल्ट होइन
कयौँ पल्ट
बारुदको लाली घोलेकोछु।
र पनि हस्तिनापुर गौरव गर्छ म माथि।
...............

12-
रहस्य
-----

तिम्रो मुस्कानको मिसकल
वास्तविक हो कि ब्यापारिक?
साहुनी मैले ठम्याउनै सकिनँ।
.

चुनावका बेला
नेताजीको मुस्कान पनि
ठीक तिम्रो जस्तै लाग्थ्यो।
.

असारयाममा
मुखिया बा को मुस्कानपनि
यसरी नै फक्रिन्थ्यो
सयपत्री फक्रिए जस्तो
र अलप हुन्थ्यो भकारीमा पसेर
प्रत्येक मंसिरमा।
.

काठमान्डूबाट कर्णाली पसेर
यसरी नै मुस्कुराउथे
भिमकाय बैदेशिक रोजगारका शिसमहलहरु।
.

यसरी नै खुल्थे
निस्चल आकाश खुले जस्तै
एनजिओ र आइएनजिओका सङ्ला छाती।
.

साहुनी,
संसदमा छलफल हुने गर्छ रे
देशका लागि।
जसरी मेरो मेटिङ हुने गर्छ
कुटो र कोदालो सँग।
जसरी मेरो सम्वाद हुने गर्छ
घैँटी र बेल्ची सँग।
जसरी मेरो वहस हुने गर्छ
हलो र हँसिया सँग।
एक थान जिन्दगी र एक गाँस फापर सँग।
.

साहुनी
शन्देह लाग्छ
'कही संसदको त्यो बहसपनि
तिम्रो मुस्कान जस्तै रहस्यमय त छैन?'
...................

13-
आस्थाको आकार
---------

अपहरण गरेर
तिम्रा यादहरुले
मलाई म बाटै छुट्याएकाछन्।
यतिखेर
केयलसीसीको उचाइबाट
सर्वोच्च सगरमाथा भन्दा अग्लो
तिम्रो त्यो भर्जिन प्रेमलाई
हिर्दय रित्याएर सलाम गर्दैछु।
.

जतिखेर छोडेको थिएँ-
मन भारी बनाएर माटो
त्यतिखेर मात्र चिनेको हुँ माटोलाई।
जतिखेर छोडेको थिएँ-
छातीमा ढुङो राखेर तिमीलाई
त्यतिखेर मात्र चिनेको हुँ यो मुटुलाई।
.

आज
पहाड जत्रो दु:खले थिचिएर
जीवन परदेश भोग्दैछ।
परदेश,
परदेश भन्नु नै आँखाको कोसी रहेछ।
परदेश भन्नु नै सुस्ता र कालापानी रहेछ।
हुम्ला र जुम्ला रहेछ।
परदेश भन्नु नै छाउपडी र बोक्सीप्रथा रहेछ।
.

ए देश मैले भेट्टाउनै सकिनँ दु:खको रङ
किन्तु दु:खका तोपहरुले छाती छियाछिया छ।
मैले भेट्टाउनै सकिनँ आस्थाको आकार
किन्तु अास्थैआस्थाले मन लछप्प भिजेको छ।
हो,
हो आमा
अपहरण गरेर
तिम्रा यादहरुले
मलाई म बाटै छुट्याएकाछन्।
र,
यतिखेर
केयलसीसीको उचाइबाट
सर्वोच्च सगरमाथा भन्दा अग्लो
तिम्रो त्यो भर्जिन प्रेमलाई
हिर्दय रित्याएर सलाम गर्दैछु।
.................

14-
'बा'लाई सम्झिदा
-----------

बा,
अनिदा रातहरुमा
अमिलो समय कोखमा च्यापेर
जब सम्झिन्छु तँपाइलाई
समय तप्प-तप्प चुहिन्छ आँखाबाट।

बा,
जब विहारीभैया सँगै खेलौनाको दोकान आइपुग्थ्यो साइकलमा
मलाई रुवाएर जान्थ्यो दोकानले।
र म सँगै तँपाइपनि रुनुहुन्थ्यो
नदेखिनेगरी।
रपनि कताकताबाट
खेलौना आइपुग्थ्यो मेरो हातमा।
खेलौना सँगै रमाउथेँ म
र म सँगै रमाउनु हुन्थ्यो तँपाइ।

आज म परदेसिएकोछु
र म सँगै आएको छ तपाईंको करङ अनुहार/दुब्लो तस्विर
र तस्विर सँगसँगै अाएकाछन् निधारका गुचुमुचु मुजा
जहाबाट कति कूलाहरु बगे?
समय सँग हिसाव छैन शायद।
बा,
म सँगै आएकोछ तँपाइको पुरानो भोटोपनि
र भोटो सँगै आएको छ पसिनाको मिठो गन्ध।
र आज
यही भोटो र तपाइको पसिनाको गन्ध साक्षी राखेर भन्दैछु कि-
"रहर पूरा गरिने त 'बा'को कमाइले पो रहेछ
आफ्नो कमाइले त
आवश्यकता समेत पूरा गर्न नसकिने।"

जिन्दगी मैनबत्ति रहेछ 'बा'
दुइतिरबाट सल्किएको मैनबत्ति।

- श्रीजन श्री
2-sep-2014
................

15-
धन्या लुहार
--------

बाप्साइ
म उही धन्या हुँ
धन्या लुहार।
जो तँपाइको हलोको फाली बनेर धर्ती चिर्दथ्यो
र सिंचन्थ्यो निधारको कूलोले गैरीखेत
जो तँपाइको हँसियाको धार बन्दथ्यो
र ओराल्थ्यो घनघस्य्याको हरियो सभ्यता तँपाइको गोठमा।
त्यही हरियो सभ्यता त हो नि मालिक।
गौमाताका थूनबाट सेतो अमृत खस्ने।
जुन अमृत मैले कहिल्यै चाख्न पाइनँ,
जुन अमृत मैले कहिल्यै देख्न पाइनँ।
.
बाप्साइ
म उही धन्या हुँ
धन्या लुहार।
जून मुर्तिहरु तँपाइको विशेस कक्षमा मुस्कुराइ रहेकाछन्
तिनै मुर्तिहरुको प्रणेता।
तिनै मुर्तिहरुको निर्माता।
जून मुर्तिहरु तँपाइ बडो आस्थाका साथ पुज्नुहुन्छ
तिनमा मेरो पसिनाको गन्ध छ
मेरा खस्रा हातहरुको स्पर्स छ
मेरो पेटको सारंगी धून छ
र छ मेरो समय-जिन्दगी।
.
म खुसीछु ख्वामित्
कम्तिमा अप्रतक्षरुपमै भएपनि
मेरो सारंगीपेट पुजिएकोछ
मेरो पसिनाको गन्ध पुजिएकोछ
मेरो कला पुजिएकोछ।
किन्तु बाप्साइ
ति मुर्तिहरुले नखाएका अक्षताहरु
मेरा चिचिलाहरुका भोका आन्द्राहरुमा परेका भए
ति मुर्तिहरुले नपिएको अमृत
मेरा चिचिलाहरुका प्यासी ओठमा तप्केको भए
तँपाइले मुर्तिलाई पुजे जस्तै
म तँपाइलाई पुज्ने थिएँ
साक्षात देबेन्द्र सम्झेर।
.
हो ख्वामित्
म उही धन्या हुँ
धन्या लुहार।
जो जेठमा बियाड बनेर छरिन्थेँ
बिउ बनेर उम्रिन्थेँ
र रोपिन्थेँ असारभरी।
अनि फुल्थे पहेलो सभ्यता भएर असोजमा
र भरिन्थेँ मालिकका भकारीभरी।
.
मालिक
आज जिन्दगी करङ भएकोछ
म हरियो सभ्यता बटुल्न सक्तिनँ
सेतो अमृत खसाल्न पनि सक्तिनँ
बिउ बनेर उम्रिन सक्तिनँ
रोपिन सक्तिनँ असारभरी
म सून बनेर फल्न पनि सक्तिनँ असोजमा
र भरिन सक्तिनँ तम्रा भकारीभरी।
र पनि खुसीछु प्रभो
खुसी यसकारण कि मालिक
कम्तिमा अबका धन्याहरु
म जस्ता धन्या बन्न्या छैनन
र आफ्नो भाग्य स्वयं निर्माण गर्न्याछन्।
जदौ बाप्साइ जदौ ....
-------------
16-
यक्ष प्रश्न 
---------
शान्ति
तिम्रो यो भट्टी पसल
र मेरो यो देशमा के फरक छ हँ?

तिमी अलिकति दारु बेच्छ्यौ
अलिकति मुस्कान बेच्छ्यौ
अलिकति नटखट र
अलिकति आत्मियता बेच्छ्यौ।

र मेरो देश,
अलिकति थाङ्नाहरु बेच्छ
फाटेका भोटा र कछाडहरु बेच्छ
उध्रिएका गुन्यू र उध्रिएकै सपनाहरु बेच्छ
चिरिएका कुर्कुचा र निधारका कर्कटपाताहरु बेच्छ
गालाका हड्डी र अनुहारका मुजाहरु बेच्छ
सुकेका आन्द्रा र निभेका चुलाहरु बेच्छ
बुध्द सगरमाथा र सीताहरु बेच्छ
हो,
मैले छुट्याउनै सकिनँ शान्ति,
तिम्रो यो भट्टी पसल
र मेरो यो देशमा के फरक छ हँ?

..
नोट: कबितामा प्रयुक्त- बाप्साइ, तम्रा, बन्न्या र गर्न्या जस्ता शब्दहरु डोटेली भाषाबाट टिपिएका हुन।
........................
17-

-श्रीजन श्री
-----------



Unknown

Unknown

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment