Monday, 6 January 2014

धाराबाहिक सम्झना................

धाराबाहिक सम्झना................

धाराबाहिक सम्झना...

श्रीजन श्री
...........

रात झरेर सिङ्गो मलेसियालाई निलेको थियो। अलकत्रा जस्तो कालोले। म किर्तिम सगरमाथा अर्थात klccको अठ्ठाइसौँ तलामा थिएँ। चारो टिप्दै। यहीबाट टिपेको चारोले बचेँरा र चरीबिचरीको भोको पेटमा  लाग्ने गर्छ टीको। जति गर्दापनि पुगेस पुगेस मात्र। एक जुग बितीसक्यो उडेको पनि। अह सकिएन फर्किन। फर्किनै दिएन समयले। बाध्यताले। बाधिएकाछन् पैतलाहरु, काटिएकाछन् पखेटाहरु, समस्या नामको जन्जिर र बन्चरोले। थाहा छैन तोड्न सकिन्छ सकिदैन जन्जिर। फ्याल्न सकिन्छ सकिदैन बन्चरो। चिर्विर-चिर्विर छ गुडमा।

एक लस्कर दशैहरु बिते, एक पल्टन तिहारहरु बिते, छठ,माघि,नयाबर्स,ल्होसार,उधौली-उभौली र गौराहरु बिते अझै बाटो खुलेन। कयौं चैत्रहरु आए गए अह वसन्त फुलेन, फुल्दै फुलेन।

यस्तै विगत,वर्तमान र भबिश्यको त्रिवेणीमा हराइरहेकै बखत नोकियाको स्क्रिनमा सल्बलाए दुइटा प्यारा शब्दबिम्ब।'आदर्श शुसील'। शब्द जस्तै शुसील हिर्दय र शब्द जस्तै आदर्श वक्तित्व।उनी बोल्दा गजल जस्तै लाग्छन् मुलायम-मुलायम। मुलायम लबजले कानलाई स्पर्स गर्यो। २० गते मनोजजीकोमा तिहार पार्ट्री राख्दैछौँ र पार्ट्री साहित्यमय हुनेछ, हजुरलाई विसेश  निम्तो। साहित्यमय शब्दले जादु गर्यो। मोहनी लगायो। र ओठबाट आफसेआफ चिप्लियो शब्दस्विकिर्ती। हस, म आउँछु। धन्यवाद पनि। किन्तु यो थियो आफ्नै घरमा आँफैलाई गरिएको आमन्त्रण। बडो हार्दिक अभिव्यन्जनयुक्त।

       
लगतै शुसील निमन्त्रणाको सयपत्री लिएर जानुभयो मनिराइ गोठाले, राज अविरल यात्री, जीवन देवान गाउँले, निश्चल परदेशी र सोमनाथ सुवेदीजीहरुको दैलोमा। तथापि शुसील भन्दा अघि नै मनोजले हिर्दय बिच्छ्याइ सकेछन्। यही हो 'सुनमा सुगन्ध' भनेको।

२० गते बिहान klcc बाट खसेँ। म भन्दा अघि नै खसिसकेछ घाम, चिल्ला टायलहरुमा। विश्वभरका पैतालाहरु टायलभित्रको सूर्यलाई कुल्चिदै हिडिरहेका थिए। यताउता। उनीहरुका अनुहार छापिदै थिए आफ्नै पैतालामा अर्थात टायलहरुमा। त्यो सल्बलाहट  चिर्दै पुगेँ जलान आम्पाङ। (बाटोको  नाम) texi लाई हात दिएँ र चढें त्यसकै बुइ। texi होटेल माया, होटेल सेराटन र होटेल ग्र्यान्डसिजनलाई पछि पार्दै करिव दश मिनेटमै पुग्यो चौकेट। (चौकेट ठाउँको नाम)कुटीमा कमन्डलु बिसाएँ। करिव २५ मिनेट स्नानादिमा आयू घटाउदा फ्रेस भईयो। 

अब म सँग छन 'सुकरातका पाइला' र 'सपनाको समाधी'। सुकरातका पाइला र सपनाको समाधी सँगसँगै  लागेँ जलान इपो। जलान इपोमा स्वागतार्थ उभिएको छ बुढो मेट्रो।(मेट्रो बस)।  मेट्रोको दैलोमा मात्र के टेकेको थिएँ कानमै ठोकियो  कोइलीको कुहुकुहु। बाङ सत्तु रिंगिट। कोइलीलाई एक रिंगिट दिएँ। ध्यार्र तिकट च्याती र थपक्क हातमा राखिदिदै भनी 'तेरिमाकासी' भनेँ  सामासामा। (you are welcome)

एकै छिनमा बस चिप्लियो र पुग्यो सोगो मार्केट र मस्जिद इन्डिया हुँदै मर्डेका पार्क। बस मर्डेकापार्कबाट कोताराया(कोताराया, नेपालीहरुको घनत्व भएको ठाउँको नाम)तिर मोडेको मात्र के थियो पर्यो जाममा। कृष्णभीरमा जस्तै। कलंकीमा जस्तै। १० मिनेट उमेर घटी सक्यो जाम बढेको बढ्यै छ उमेर घटेको घट्यै छ। अह देखिदैन खुल्ने 'छेकछन्द'। मलेसियामा पनि जाम? मनले  मनलाई नै सोध्यो। अगाडि दुर्घटना पो भयो कि? बन्द, हड्ताल र आन्दोलन त कुन चरीको नाम हो थाहा छैन मलायालाई। यतिकैमा फोन थर्थरायो। राज अबिरल यात्री नाचिरहेका थिए स्क्रिनमा। 'श्रीजन सर तपाईंलाई लिन शुसील र निस्चल परदेशी अाइपुग्नु भयो है श्रीमुडामा।'
हस
'राम्ररी आउनु होला। शुभ यात्रा।
हस धन्यवाद सर।
फोन चुप लाग्यो। जाम उस्तै छ। बसमा यात्री कोही छैनन।  भएका ४ जना परी र २ जना कृष्ण मस्जिद इन्डियामै ओर्लिसकेका थिए। मस्जिद, परी र कृष्ण धर्म निरपेक्षता। 
……………

बस अलिकति घिस्रियो, पचास मिटर जति। फेरि जाम। नझरी भएन तर चालिकाले मानिनन् ।  पढाउन थालिन ABCD, ट्रफिक नियमहरु। बल्ल सम्झना भयो नेपाल होइन यो। यस्तै जाम हो भने निश्चित छ 'आधा वा एक घण्टा आयू अझै घट्ने छ'। बिनासित्ति। गन्तव्यमै पुगेर पनि।
चालिका सँग अनुनय गर्नु बाहेक थिएन बिकल्प।
'काका.... सिला तोलोङ साया बोले जलान काकी, डकात सजा'। (बहिनी किर्पया सहयोग गर्नुस्, म यही झर्छु र हिंडेर जान्छु गन्तव्य पनि त नजीकै छ।) अब काकाको दाहिने हातको चोर अौंलो स्वीचमा सल्बलायो। ढोका घ्यार्र उघ्रियो।
'जागा मोटो या' (वाइकको ख्याल गर है त) काकाले भनिन।
या या thank you काका 
'सामासामा।' (you are welcome)


अब म सेन्ट्रल मार्केटको छातीमा हिडिरहेको छु। सवासय बर्ष बुढो अर्थात सन १८८८मा जन्मेको सेन्ट्रल मार्केट।फेरि फोनले बोलायो। 'मनोज बिराली' रहेछन् अहिले। हिलोको कमल। उनकै तत्वाधानमा हो पार्ट्री आयोजना भएको। उनकै आश्रममा। हार्दिक आग्रह थियो छिटो आउनुस् है भन्ने। यहाँ बाबुरोको बाध्यता आठ वटा गाडी चेन्ज गर्नु पर्ने। यताउती गर्दा।

सेन्ट्रल मार्केट छिचोलेर पासारसिनीको छातीमा घिस्रिदै थिए पैताला। पैतालाकै छेउबाट चिप्लियो RAPID KL को U64. सर्प चिप्लिए झै। अर्को U64 पनि चम्कियो आँखामा। करिव २०० मिटर अगाडि। अब भने पैताला पनि चम्किए, रिले दौड लगाउन। बसको पुच्छर तानियो; नहिंड्ने पो रहेछ। छातीमा स्वास हैन चल्दै थियो हुरी। फुटेका थिए निधारमा अनगिन्ती  मूल। अनौपचारिक हेराइमा देखियो अर्को बस। रोड क्रस गर्न रोकिएको। लालबत्तिमा आँखा  गाडीरहेको। कारिव २० मिटर अगाडि। ढोकामा पुगेर हेरेँ चालकलाइ; बिशेष आग्रहका नयन बिच्छ्याएर। सहर्स स्वागत भयो, रमायो मन। सानोमा बाबाले चकलेट किनिदिदा रमाए जस्तै। लागेन ट्रफिक नियम। बुझेँ यहाँ पनि मिचिदो रहेछ कानुन। नेपालमा झै। नियमकानुन मिचेकोमा धन्यवाद दिएँ चालकलाइ;मनमनै। हाम्रोमा त कतिले पाउदा हुन कतिले दिदाहुन; धारावाहिक धन्यवाद। देश खोक्र्याएकोमा।

 
अब गाडी गुड्यो रकेट गतिमा। नाडिमा १०:०५ बजेको छ। मनमा भने बाह्र बजी सक्यो; बिलम्बको त्रासले।

मलेसियाको राजाधानी क्वालालम्पुरलाई चिर्दै अग्लाअग्ला इमारतहरुको नाकै मुनी बगी रहेको छ बस। सलललल। कृष्णलीला चलिरहेको छ; मेरो अगाडिको सिटमा। बङ्गाली  बन्धु र इन्डोन बुना बीच। बेलाबेला एकअर्काका चुच्चा जोडीन्छन। परेवाका झै। प्रस्ट देखिन्छ उमेराधिक्यछिन् बुना;बन्धुको तुलनामा।  मानौ मातारी र चिचिला हुन ति। मैले एकै पटक सम्झिएँ रबिन्द्रनाथ टैगोरलाई र उनको यो पुस्तालाइ।  सुकानोपुत्रीलाई र उनको यो पुस्तालाइ। बङलादेशलाई र इन्डोनोसियालाई। अनि मलेसियालाई पनि।

बन्धु र बुना अग्यात  स्थलमा झरे र भए अलप। गाडी अगाडि चिप्लियो उसैगरी रकेट गतिमा। अगाडिको बिशाल आकाशे पुल र प्रधानमन्त्री नजिवको तस्विरांकित बोर्डमुनी हात हल्लिरहेको थियो;पात हल्लिए जस्तो। घ्याच्च गर्यो गाडीले। बस बिसौनी रहेछ। एक जोडी ढुकुर टिपेर गुड्यो गाडी। गुड्यो हैन उड्यो। प्रधानमन्त्री नजिवकै नाकमुनीबाट।

ओगट्यो ढुकुर जोडीले बन्धु र बुनाको रिक्त स्थान। यसपल्ट भने बन्धु देवकोटाका मदन थिए। बडो हिप्पी स्टाइलमा। बुनाभने सुकानोपुत्रीकै सहोद्दर नातीनी। ठम्याउन माथापच्चिसि  गर्नै नपर्ने। ढुकुरलीला पनि राम्रै चल्यो। बेलाबेला चुच्चा जोडीनु र नयन एकाकार हुनु ढुक्कुरीय विशेसता नै हो। एकर्काका अवयव  चुच्चोले कन्याउन र प्रेममा लिप्त हुन दुनियाँले सिकोस त  ढुक्कुरहरुबाट सिकोस। त्यसैपनि ढुकुर प्रेमको प्रयायवाची। बातावरण घनघोर श्रिङ्गारिक बन्दै थियो। सवैका नयन ढुकुरजोडीमै टाँसिएका थिए। स्वर्गिय आनन्दमा मग्न थियो जोडी। लाग्थ्यो संसार विर्सेकाछन् दुवैले। सयर गर्दैछन् स्वर्गीय वगैचामा।  यतिकैमा परिवेश गुन्जियो-
'दिल दिया है जान भि देँगे हे सनम तेरे लिए'
मदनको हातमा आइफोन टल्कियो। चमचम। आइफोन गाई रहेकै थियो 'दिल दिया हे जान ..........
आइफोनले के बोल्यो मैले सुन्न सकिन तर मदन भने यसो भन्दै थियो-"मुना, टिमी कहिले गयौ चिटवन?"
मुना- ...............
मदन- 'ह्या दिमाक नचाटन यार, के मेरो विश्वास लाग्दैना टिमीलाई?'
मुना- .............
मदन-अगाडि बोस आउँदैछा,कराउछा ट्यसले। म कम्पनीमा छुँ पछि काल गार्छु टिमीलाई। बाइ बुढी।


ढुक्कुर्नीले ढुक्कुरको गालामा चुच्चो जोतिन। मायालु पाराले। ढुक्कुरले पनि जोत्यो उसैगरी। मन नै बिन्द्राबन।

घ्याच्च  रोकियो बस।

बाहिर निश्चल र शुसील मुस्कुराइ रहेका थिए;गुराश फुले जस्ता। आइपुगेछ श्रीमुडा। हाम्रा हात मिले। काध पनि मिले। त्यहाबाट मिनिबस जादो रहेछ 'कोताकुमुनिङ'। जहाँ हिलोका कमल छ्न। मनोज। हाम्रो गन्तव्यस्थल। आधा घण्टा आयूदान गरिसक्दा पनि आएन २७ नम्बरको मिनिबस। सत्ताइससय पटक सडकमा नयन बिच्छ्यायौँ। निरर्थक। नाडी साढेएघारमा घुम्दै छ। 

बिकल्प सिर्फ texi मात्र छ। निर्णय गर्यौं texi मै जाने तर इन्डियनको texi मा नजाने। कारण थुप्रैछन। लुटिन कुटिन सक्ने लगायतका सम्भावना। हाम्रै कतिपय साथीहरुले देखेका भोगेका ज्वलन्त तस्विरहरु नाच्न  थाले आँखामा।  'एउटा सढेको मछली र सिङ्गो पोखरी'को सन्धर्भ  पनि सान्दर्भिक छ। तथापि भय भनेको भय हुदो रहेछ। यस्तै-यस्तै बेला बिझाउँछ परदेश। यस्तै-यस्तै बेला बिझाउँछ घरदेश।

सत्ताइस नम्बर अझै आएन। नाडीको  सुइ झनझन उकालो लाग्दैछ। नचढ्ने भनेकाकै texi चढ्यौ। कारण इन्डियन(तामिल)हरु बाहेककाको texi भेटिएन श्रीमुडामा। texi भित्र 'लू' चलि रहेको थियो। सायद अरब मरभूमिको खन्डहर प्रदेशमा छौं हामी। वा सूर्यदेशको  कुनै बिकट प्रान्तमा अवतरण भएका छौं भरखर। जहाँ आगोका गोला फुलिरहेकाछन्। ढकमक्क। सवैका निधार बग्न थाले धाराबाहिक रुपमा। texi थर्थरायो। बालासुब्रमण्यम घन्किदै थिए क्यासेटमा।

मैले नोकियामा मनोजलाइ दबाएँ र सोधेँ 'सर हामी झर्नु पर्ने ठाउँ कहाँ पो हो?'
-'हिरो मार्केटको  बाटो भएर आउँदा सेकेन्ड नाइन्टिनाइन भन्नुस् टेक्सिलाई'।  
-'उसो भए तपाईं नै भन्नुस् है' मैले texiको कानमा नोकिया चिप्काइदिएँ।
-'बोले बाङ बोले। (हुन्छ दाजु हुन्छ)  मनोजजीको भाई अर्थात texiले कुरा बुझेछ।

texi पातला घरहरु, रुखहरु र ल्याम्पपोस्टहरु पछि पार्दै हुइकियो हावामा। आँखै अगाडि चम्कियो हिरो मार्केट।  एकै छिनमा नाकमै ठोकियो नाइन्टिनाइन पनि।
फेरि दवाएँ मनोजलाइ, नोकियाको हरियो स्विचमा।
-'एउटा नाइन्टिनाइन त आँखामै ठोकियो है सरकार,हिरो मार्केट  भन्दा अलिकति अगाडि'
-सेकेन्ड नाइन्टिनाइन भन्नुस् है डाइभरलाई'
मैले नोकिया उसै गरी चिप्काइदिएँ texiको कानमा।
 भन्यो- ओके ओके।  texiले

झर्नुस, तपाईंहरुको गन्तव्य यही हो। तपाईंहरुको साथी उ त्यो नाइन्टिनाइनमा कुर्नु भाछ। हामी झर्यौँ।
texi अलप भयो १५ रिंगिट बोकेर।

धोका दिएछ texiले। झारेछ पहिलो नाइन्टिनाइनमै। १० मिनेट जतिमा मनोज आइपुगे साइकलको घोडा चढेर।

अब श्रीगणेश भयो पैदल मार्चको।
सडकहरुको जालो र कंक्रिटको जङ्गल छिचोल्दै गर्दा हाम्रा छाती उछिट्टिइ रहेका थिए। मुटु नै बाहिर निस्केला जस्तो गरी। निधार बगिरहेका थिए,कुलो बनेर। सूर्य खसिरहेको थियो टाउकै माथि। एउटा अपार संघर्स पछि मात्र पुगियो मनोजको आश्रममा।  

दैलोमा राज अबिरल झुल्किए, हिमाल झै प्रफुल्ल। ढाका टोपिमा। सँगसँगै थिए सोमनाथ सुवेदी स्वागतीय मूस्कानका साथ। कोठाले फिजाइरहेको थियो अँगालो-हार्दिकताको।

अब छ वटा अनुहार पोखिएकाछन् एउटै हिर्दय बनेर। अगाडि बिभिन्न परिकारहरु र मनमा शब्दको बिस्कुन फिजिएको छ। अब केही शब्दहरु चुनावका नामना, केही शब्दहरु गजलका नाममा, केही शब्दहरु कथा-कविताका नाममा, केही शब्दहरु दीपान्जलिका नाममा, केही शब्दहरु अनाममन्डली र विनेसासका नाममा, केही शब्दहरु हाम्रा भावी योजनमा र  केही शब्दहरु सुरा र श्रिंगारका  नाममा पोखिए। शब्द सँगसँगै  जाम पनि पोखियो। जाम सँगसँगै हिर्दय पनि पोखियो। हिर्दय सँगसँगै कथा कबिता सुनाइए, गीत गजल गुनगुनाइए। अक्षरहरुको बर्षा भयो। हामी निथ्रुक्क भिज्यौं। रमायौँ र खेल्यौँ केहीबेर। अक्षरबर्षामा मुग्ध बन्दै।

जय अक्षर ............ जय शब्द ...........

श्रीजन श्री
15-nov-2013
klcc मलेसिया
Unknown

Unknown

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment