अनाममन्डली मलेसिया र विश्व नेपाली साहित्य महासंघ मलेसिया परिवारले आयोजना(२२-१२-२०१३ सन्डेका दिन क्वालालम्पुरमा)गरेको मेरो'एकल गजल वाचनमा वाचन गरिएका गजलहरु
23 December 2013 at 00:16
श्रीजन श्री
१।
वाइवल देखाएर तिम्ले, कुरान देखाएर।
तिमी मेरो भयौ भन्यौ, भगवान देखाएर।
झोलीथाप्छ मेरो सरकार, झोलीथाप्छ झोली/
हुम्ला-जुम्ला, सोलु-साप्सु, सल्यान देखाएर।
बाबा-आमा खै त बाबु? सोध्न नपाउदै/
रुदैछ ऊ घुक्क-घुक्क चिहान देखाएर।
घुर्की लाउछन् विरोधीले मलाई बेला-बेला/
चियाको त्यो गिलासमा तुफान देखाएर।
आहा कती खुशी तिमी भन्छ मेरो साथी/
वचपनको तस्वीरमा मुस्कान देखाएर।
...........................
2
अश्त्र बिरूद्द मुस्कानको युध्द।
चल्दैछ मेरो इमानको युध्द।
मन्दिरको ढुंगो गायब भएछ //
को सँग पर्ला भगवानको युध्द?
बाड्दैनन् आकाश चराहरुले //
धर्तीमा किन अन्जानको युध्द।
भोकको बिरुद्द उभिन्छ भने //
मै सँग पर्छ बिधानको युध्द।
......................
3
मुस्कान र प्रहार उस्तै-उस्तैछन्।
परेली र तरवार उस्तै-उस्तैछन्।
कस्तो भाउ बढ्यो छुनै नसक्ने
प्रेयसी र बजार उस्तै-उस्तैछन्।
गुनासोछ यस्तो सोझो पियनको
हाकिम र खरदार उस्तै-उस्तैछन्।
सखापमात्र पार्छ आएर किन?
यो बाढी र सरकार उस्तै-उस्तैछन्।
.......................
4
मन्दिरमा कुरान हुन्छ कि हुँदैन?
मस्जिदमा भगवान हुन्छ कि हुँदैन?
साह्रै चमत्कार गर्यो प्रबिधिले /
दिल जोड्ने विज्ञान हुन्छ कि हुँदैन?
''अण्डा पहिले कि कुखुरा पहिले''
समस्याको निदान हुन्छ कि हुँदैन?
बोलीको गोलीले छेडेपछि छाती /
कतै केही निसान हुन्छ कि हुँदैन?
देख्दैछु स्वतन्त्र स्वतन्त्र देख्दैछु /
चराहरुको विधान हुन्छ कि हुँदैन?
............................................
5
घाउमाथिका चुम्वनहरु गुलाव जस्तै लाग्छन्।
मलाई मेरा दुस्मनहरु गुलाव जस्तै लाग्छन्।
तिमी गयौ तिम्रो तस्विर छाति भित्रै रह्यो,
यादहरु धड्कनहरु गुलाव जस्तै लाग्छन्।
जहाँ थियो त्यही बसी यसो भन्दै छ ऊ,
वाचा अनि बन्धनहरु गुलाव जस्तै लाग्छन्।
तिमी भन्छौ काँढाहुन् यी काँढा दु:ख दिने,
मलाई भने अड्चनहरु गुलाव जस्तै लाग्छन्।
......................
6
जो-जो भेटिन्छन् भिखारी भेटिन्छन्।
सरकारमा अचेल मदारी भेटिन्छन्।
मन्दिरका मुर्ती कहाँ गए कुन्नी?
तारे होटेलमा पूजारी भेटिन्छन्।
उनी भन्छिन् यस्तो जमाना के आयो//
जता गयो उतै सिकारी भेटिन्छन्।
एकातिर नौनी अर्कोतिर ढुंगो //
लडाईंका निम्ति तयारी भेटिन्छन्।
.................
7
जब मान्छेलाई ,हतारो हुन्छ।
तब बाटोमा, तगारो हुन्छ।
नांगै आँखाले, नहेर्नू सूर्य //
उज्यालो पनि, अँध्यारो हुन्छ।
यता पट्टिको, बेलौती झार्न//
उता पट्टिको, झटारो हुन्छ।
अरुको कुर्सीमा,के रै'छ कुन्नी?
हाम्रोमा सधैं छेपारो हुन्छ।
.................
8
चस्किएर जीवन भरी , सम्झिरहूँ मैले ।
यस्तो चोट देउ बरु , निको नहोस् कैले ।
आधी बनी आयौ तिमी ,हुरी बनी गयौ \\
मेरो जीवन पत्झड झै , भएकोछ ऐले ।
आँखाको त्यो जंगल भित्र ,हरायो कि कोही?
कि तिमीले हिर्दयमा ,लुकायौ आँफैले ।
भोटोका यी टालासँगै , फाटेकोछ भाग्य \\
भित्री आँखा नखुलेर ,देख्दैन कसैले ।
फालीसँगै जोतिएको, स्वप्ना उम्रिएन \\
नियतिले किन यस्तो , तड्पाउछ जैले ?
....................
9
उनको बोली तिम्रो गोली ,मेरो चाँही छाती थियो ।
बुझी हेरें समाजमा , तिम्रै कुरा माथि थियो ।
चामलको दाना नपाई ,रुदा यता गाउँ बस्ती \\
उता भने ढुङ्गालाई , अक्षता र पाती थियो ।
बिधुवाको सिउँदो झै, उजाड छ परदेश यो \\
यो भन्दा त घरदेश नै ,कयौ गुना जाती थियो ।
आज दु:ख पर्दा मलाई , छोड्यो भन्ने के गुनासो?
कमसेकम हिजो सुखमा , मान्छे मेरो साथी थियो।
..............
10
टुटाएर गयो सारा फुटाएर गयो।
बनाउँछु नयाँ भनी भत्काएर गयो ।
पराइको बन्दूक भन्दा भारी पर्यो मलाई,
आफन्तैले औलो जब उठाएर गयो।
यमराजलाई गजल सुनाइ फर्किसकेपछि,
भन्थ्यो अरे गजलकारले रुवाएर गयो ।
'क्रान्ति'भन्ने शब्द पस्यो पाना भित्र जब,
किताबमा नै दनदन आगो लगाएर गयो ।
..................
11
सिउदो पुछि लासमाथि सिन्दूर चढाइन्छ।
यस्तो गरि-गरी पनि पूण्य कमाइन्छ ?
प्रेमको यो नियम पनि अजिव-अजिव लाग्छ,
पहिले हसाइन्छ अनि पछि रुवाइन्छ।
के बताऊँ साथी मेरो घरको कुरै अर्को,
मट्टीतेल छर्की-छर्की आगो निभाइन्छ।
जब जब शब्दहरु नाजूक बन्दै जान्छन्,
कलमको काँधमा राखी बन्दूक पड्काइन्छ।
मेरो योग्यताको प्रमाण सोध्छन् भने कोही,
हत्केलामा उठेका यि ठेला देखाइन्छ।
.................
12
घाउ माथि घाउ रैछ तिम्रोपनि मेरोपनि।
जिन्दगी नै आँसु रैछ तिम्रोपनि मेरोपनि।
तिम्ले मलाई उपहारमा दिएको यो फूल हैन,
फूलरुपी मुटु रैछ तिम्रोपनि मेरोपनि।
हिर्दयका किनारहरु जहिले पनि जोडीराख्ने,
नजर यस्तो सेतु रैछ तिम्रोपनि मेरोपनि।
जिन्दगीमा सयौँ हण्डर खाएपछि भन्छ मान्छे,
समय पो गुरु रैछ तिम्रोपनि मेरो पनि।
.................
13
गंगालाई पनि फोहोर नाली देख्छन् नालीहरु।
सवैलाई आफू जस्तै जाली देख्छन् जालीहरु।
हेपिएर थिचिएर मिचिएर बस्दा-बस्दा,
अनौलाई पनि अचेल फाली देख्छन् फालीहरु।
पतझर झै जिन्दगीको सारा वहार झरे पनि,
लहलह फुल्ने फूलका डाली देख्छन् डालीहरु।
टपरी र दुनाहरु भोकभोकै रोए पनि,
व्यन्जनले भरिएका थाली देख्छन् थालीहरु।
...................
14
छन्द: दिक्पाल
जादै छु दूर भन्दै बाटो जलाउदै छौ।
जन्मेर हुर्किएको माटो जलाउदै छौ।
कस्तो कठोर बन्छौ विर्सेर कोख छोरा?
दस्धार दूधको नै टाटो जलाउदै छौ।
गर्दा विनास मात्रै केको बिकास हुन्थ्यो?
आफन्त वीच लड्दै खाटो जलाउदै छौ।
कस्तो भविस्य होला भुल्दा उद्देश्य आफ्नो?
अन्मोल जिन्दगीको पाटो जलाउदै छौ।
.................
15
सर्प बिच्छी बाहिर आए मान्छेपसे दुलाभित्र।
पेट भित्र आगो बल्यो भोक रोयो चुलाभित्र।
आजाद छौ दिदी बहिनी चरी जस्तै आजाद छौ,
मात्र भाग्य कैदी न हुन घाँस दाउराका पुलाभित्र।
पहाड जत्रा छाती हुनेहरुलाइ साना देख्छौ,
चित्तै साना हुने चाँही कहिले देखि ठुलाभित्र?
नदी नाला सागर र गंगा भित्र के नै छ खै?
मजदूरको गीत हुन्छ पसिनाका कुलाभित्र।
................
16
यसो....... सोची हेरें मैले केहो जिन्दगानी?
कर्कलाको पातमाथि हासिराको पानी।
'सुख' भन्ने साथी मेरो गयो तर्कीतर्की,
'दु:ख' भन्ने मित्रबरु रैछ साह्रै ग्यानी।
तिम्रो हाँसो मेरो आँशु बग्दा सँगसँगै,
समाजमा चल्न थाल्यो हाम्रै कुराकानी।
काल तान्छ एकातिर जीवन अर्कै तिर ,
म बिचरो बीचमा छु कस्तो खिचातानी?
चस्सचस्स मुटुमाझ फूल बिझेपछि,
काढा सँग भएको छ नयाँ चिनाजानी।
तिमी आयौ बेग जस्तै गयौ पनि त्यस्तै,
मेरा नयन 'मोती' बने रैछु भाग्यमानी।
..................
17
बहरे बसित
आकाश झै खुल्न द्यौ नेपाल यो विश्वमा।
स्व्च्छन्द भै फुल्न द्यौ नेपाल यो विश्वमा।
थुन्दै तिमी खोरमा आजाद छौ भन्दछौ,
आजाद भै डुल्न द्यौ नेपाल यो विश्वमा।
गर्दै गए सत्रुता बच्ला र के भावना?
भात्रित्वमै भुल्न द्यौ नेपाल यो विश्वमा।
आगो छरे खेतमा बाली कहाँ झुल्छ र?
उन्मुक्त भै झुल्न द्यौ नेपाल यो विश्वमा।
..........
18
बहर
12122x4=20
नतर्नु आँखा तिमी मलाई छ प्रेम मेरो अनन्त प्यारी।
नगर्नु संका मनै जलाई छ प्रेम मेरो अनन्त प्यारी।
हिमाल जस्ती पहाड जस्ती मधेस जस्ती थियौ हसीली,
नझार्नु मोती नयन गलाई छ प्रेम मेरो अनन्त प्यारी।
म भुल्न सक्थेँ कहाँ र प्यारा सहिदहरुका ति बीर गाथा,
सदैव सच्चा सपूतलाई छ प्रेम मेरो अनन्त प्यारी।
भुल्यो कि भन्ने नठान्नु माटो र देश मेरो छ प्राण जस्तो,
सधैं म सम्झन्छु राष्ट्रलाई छ प्रेम मेरो अनन्त प्यारी।
..................
19
बहरे- हजज
1222x4=16
मलाई देशको छाती जलेको गीत चाहिन्न्न।
जलेरै जीर्ण भै आँफै ढलेको गीत चाहिन्न्न।
छ टुक्रा देश यो मेरो अनौठो व्दन्द मारैले,
अझै झन् व्दन्दको आगो बलेको गीत चाहिन्न्न।
दिदा दील यी दियौ धोका दुखाई लाखलाखौं मन,
मलाई स्वार्थको हावा चलेको गीत चाहिन्न्न।
सवै हासुन् सवै खेलुन् खुसीका रंगमा रम्दै,
नयनमा आँसुका ढिक्का गलेको गीत चाहिन्न्न।
..................
20
बहरे- हजज
1222x4=16
जता गैरो उतै पैरो गएको हेर्न सक्थेँ र?
म कैल्यै देशले पीडा सहेको हेर्न सक्थेँ र?
न लाटो हूँ न बैरो नै न हूँ घाती न अन्धो म,
र साच्चै सत्यको हत्या भएको हेर्न सक्थेँ र?
उसाको लालिमा खुल्ने सुनौला गाउबस्तीका,
नयनमा आसुँका खोला बहेको हेर्न सक्थेँ र?
...............
21
मुलुक छ भीरमा अरु त ठिकै छ।
जन्ताछन् पिरमा अरु त ठिकै छ।
नबोल्ने छ उर्दी यति मात्र बोलेँ,
जीवन छ झिरमा अरु त ठिकै छ।
पाउ पर्दथ्यो उ भयो के अचम्म,
उक्लेछ शिरमा अरु त ठिकै छ।
'जति जोगी आए सवै कान चिरा
देश छैन स्थिरमा अरु त ठिकै छ।
नाव डुब्यो आज दुनियाँ हास्दैछन्,
नयनछन् नीरमा अरु त ठिकै छ।
कय्यौ युग बिते उसैको छ राज्य-
मेरो तक्दीरमा अरु त ठिकै छ।
..............
22
बसार ओराङ पुन्या इनी ,माच्याम-मच्याम चारा ।
नगाराकु तामौ पिच्चा, अडा याला डारा ।।
भावार्थ :- ठूला मान्छेहरुका तरिका आ-आफ्नैछन । तर यो रगत बाँकी रहदासम्म देश टुक्रिन दिनेछैन ।
काली जुवाल् मेची जुवाल् , जुवाल सगरमाथा \\
साया चाकाप बत्तोल् -बत्तोल्, क्यानाप्पा कौ मारा ?
भावार्थ :- महाशय काली बेच्यौ मेची बेच्यौ सगरमाथा पनि बेच्यौ तर मैले सत्य -सत्य बोल्दापनी किन रिसाउनु हुन्छ?
दरीडुलु मिस्किन ओराङ्,सुधा जाडी सुङ्घाइ \\
डलाम् माता तानाम्पाक फेवा डङान् रारा ।
भावार्थ :-पहिलेदेखी नै अकिन्चनहरु नदी बनिसकेकाछन । नयनभित्र टम्मिएका फेवा र रारा देखिदैनन र ?
माच्याम् अवाक् सायापुन्या ,सामा -सामा तानाम् \\
आक्कुपुन आनाक् तानाम् , पाहामकौ पकारा ?
भावार्थ :-तिम्रो जत्तिकै मेरोपनि यो माटोमा हक लाग्छ । किनकी म पनि यो धर्तिको छोरो हूँ ।
................
23
कोइली भित्र काग हुन पनि सक्छ।
स्याल भित्र बाघ हुन पनि सक्छ।
सधैं किन हेप्छौ जूनलाई मात्र,
सूर्यमा नै दाग हुन पनि सक्छ।
बचाउनु छ देश भन्नेहरुको,
आफ्नैआफ्नै राग हुन पनि सक्छ।
बर्सौ लगाएर कमाएको इज्जत,
छिनभरमै खाक हुन पनि सक्छ।
जस्लाई दियौ मन र पेट खोली,
त्यही मान्छे नाग हुन पनि सक्छ।
कति गर्छस् काल आफुखुसी तैले?
अब तेरै माग हुन पनि सक्छ।
गजलका निमित्त आइ परे मेरो,
घरवारै त्याग हुन पनि सक्छ।
.............
24
खनखन् चुरा छनछन् पाउजु नेल जस्ता लाग्दैनन् र?
सिन्दूरका साइनाहरु जेल जस्ता लाग्दैनन् र?
नाकमा फुली कानमा बाली तिम्ले मात्रै लाउनु पर्ने,
गलाभरी पोतेहरु झेल जस्ता लाग्दैनन् र?
सधैं भरी तप्पतप्प चुहिरने नानी तिम्रा,
हिर्दयमा उर्लिएका भेल जस्ता लाग्दैनन् र?
वेद-पुराण, बाइबल-कुरान, रामायाण र महाभारत,
नारीलाई शोसण गर्ने खेल जस्ता लाग्दैनन् र?
...............
25
जून भन्छ फूल राम्रो फूल भन्छ जून।
हाँस्दा हास्न पाउँ सँगै रुदा सँगै रुन।
दूध खुवाइ पालेँ मैले देउता मानी पुजेँ,
तर पनि सकेन यो मान्छे मेरो हुन।
दम्भ बोकी निगालोले जति लाअोस् घुर्की,
झुक्नै पर्छ सक्तैन त्यो आकाशलाइ छुन।
गधा धुदा गाई बन्ला स्याल धुदा सिह,
मान्छे के पो बन्थ्यो कुन्नी सकिएन धुन।
.................
26
पटमूर्ख यहाँ विद्वान हुँदैछ।
मान्छे स्वघोसित भगवान हुँदैछ।
'कलमको काधमा बन्दूकको राज्य'
यो कस्तो नौलो उखान हुँदैछ?
उहिले'नि यस्तै चल्दथ्यो यहाँ
अहिले'नि ढेडु महान हुँदैछ।
दिनदिनै फूलको हत्या गरिन्छ//
काढाको भने बगान हुँदैछ।
धर्तीलाई टुक्रा पार्दैछन् जस्ले,
उनैको बडो सम्मान हुँदैछ।
मृत्युले हरेस खाएरै फर्क्यो
मेरो गजलको बयान हुँदैछ ।
27
...............
आँखा भित्र नानी रोयो नानी भित्र आसुँ।
आसुँ भित्र तिमी रोयौ कसरी म हासूँ।
यता गास्यो उता टुट्छ उता गास्यो यता,
जिन्दगीको सारंगी यो कता-कता गासूँ?
राख्दा पनि चस्स-चस्स नराख्दा नि चस्स,
तिम्रो तस्विर फालि दिउ कि हिर्दयमै टासूँ?
होइन भनूँ हो हो जस्तो हो भन्दा नि कस्तो,
तिमी भन्थ्यौ तिमी र म भयौ नङ र मासु।
,..................
28
गजलले यस्तो तीर चलाउछ अब।
कित जल्छ कित सागर जलाउछ अब।
फूल यति तिखो भयो छुनै नसकिने //
काँडा फुल्ने ठाउमा के, पलाउँछ अब?
मान वा नमान तिमी त्यो त तिम्रै मर्जी?
पसिनाले ढुङ्गामै सून फलाउछ अब।
(खुकुरी र अचानोको सम्झौता भो अरे //
आसा गरौ चर्केको घाउ भलाउछ अब।)- baikalpik sher matra ho yo.
तिम्रो आँखा बाट यस्तो हुरी चलेकोछ //
मेरो मनको सगरमाथा ढलाउँछ अब।
नोट: भलाउछ = डोटेली शब्द 'निको हुन्छ' को अर्थमा प्रयोग गरिएकोछ यहाँ।
....................
29
डोटेली गजल
फूलले हाण्या ढुङ्गो रोयो ढुङ्गाले हाण्या छाती।
छाती रोया जिन्दगीमाइ पड्या रैछ राती।
स्यालब्वासा सँगसङै पस्या गीतु गौनु,
कुकुर बिल्ला कब हुन्ना एकर्काका साथी?
सर्कु छुनु भन्ड्या बाँसु निउडिन्छ तलै,
तम्रा खुट्टा धर्ती छाडि क्याइहुन माथि-माथि?
'चोक्टा खानाकी जान्या हुन्या झोलैनी दुबी मद्दान'
भण्याकि भणाइनि हुन्छी नभण्याकै जाती।
काम केइ गद्दाइन गद्दा सुइना धेक्का ठुला,
नेपालमा आजिलाई छन् सुदामाका नाती।
...............
30
मेरा सारा सपनाको चिहान बनाएर।
सिन्दुर हास्यो सिउँदोलाई मैदान बनाएर।
झुक्याउँछन् घरिघरी किन यसै गरी ?
काढाहरु अधरमा मुस्कान बनाएर ।
एउटा यस्तो जिज्ञासाले सताउँछ मलाई,
जित्यो कि वा हार्यो मान्छे विज्ञान बनाएर?
जहाँ मैले हार्दिकताको दीयो बालेको थेँ,
त्यही नजर पठाइछौ तुफान बनाएर ।
रुखै छोडी उडी गयो नफर्किने गरी,
के पायो त देशले उस्लाई विद्वान बनाएर ?
....................
31
कर्णालीका लागि अनि गन्डकीका लागि।
काठमान्डू बिरानो भो रापतीका लागि।
अनौठो छ अनौठो यो खेल पिरतीको,
गुलाबको हत्या हुन्छ जिन्दगीका लागि।
यत्ति पनि बुझ्ने प्रयास गर्दैन यो मान्छे,
बत्ती किन काल बन्छ पुतलीका लागि ?
अध्यारो छ अध्यारो यो कस्लाई भनूँ अब?
रवि स्वयम् भट्किदैछन् रोसनीका लागि।
.....................32
bahar-
तिमी मेरो धड्कन् भन्यौ , जल्यो पापी जमाना यो ।
तिमी नै हौ जीवन् भन्यौ , जल्यो पापी जमाना यो ।
तिमी पारी रुझ्दै थियौ , म वारी बर्षदै झन्-झन् \\
अहो कस्तो तड्पन् भन्यौ , जल्यो पापी जमाना यो ?
तिमीलाई यो जिन्दगी , दिए राजा धरोधर्म \\
नगर्नू है दोमन् भन्यौ , जल्यो पापी जमाना यो ।
थियो माया माया सँगै , रमाएकी थियौ प्यारी\\
बढ्यो माया झन्-झन् भन्यौ , जल्यो पापी जमाना यो ।
isss+ssis+isss+isss=16
No comments:
Post a Comment